अर्ग्यानिक बुङको आलु



ओखलढुंगा ।

लेकाली भेगमा जमिन उधारेर ड्याङ (बुङ) बनाई आलु रोप्ने विधिलाई बुङ भनिन्छ । एक पटक आलु खेती गरी सके पछि करिब ४-५ वर्ष जमिन बाझो राखिन्छ । यसरी ४ देखी ५ वर्ष बाझो राखिएको जमिन कात्तिक-मंसिरमा चपरी खनिन्छ र सुकाइन्छ । मंसिरमा खनिएको चपरी माटो माघ अन्तीम फाल्गुन पहिलो हप्तामा थुप्रो थुप्रो पारेर संकलन गरिन्छ र आगो लगाइन्छ । आगो लगाइएको थुप्रो करिब १-२ दिनमा बिस्तारै डढेर खरानी बन्छ ।

विभिन्न झ्यास सहितको माटो डढेर बनेको खरानी फेरी जम्मा पारेर थुप्रो पारिन्छ र माटोले पुरेर ड्याङ बनाइन्छ । यसरी बनाएको एउटा ड्याङमा १०केजी देखि १५ केजी बोट आलु रोपिन्छ । ऐरी ड्याङ बनाएर गरेको आलु खेतीमा गाई-भैँसीको गोबर मल समेतको प्रयोग गरिँदैन । यो प्रविधिको शुद्ध अर्गानीक आलु खेती ओखलढुंगाको सिद्धिचरण पालिकाको ठाडे, जन्तरखानी, विप्लाटे चित्रे खिजी देम्बा गाउँपालिकाको पात्ले, झुसिंगा, खिजी फलाटे, रगनी र खिजी कातीमा गर्ने गरिएको छ ।

बुङ बनाएर गरिने आलु खेती याहाँको परम्परागत आलु खेती गर्ने तरिका हो । याहाँका कृषकहरूले आदिम काल देखि यो परम्पराले आलु खेती गर्ने गरेको पाइन्छ । बुङ बनाएर खेती गरिएको आलु अन्य तरिकाले खेती गरिएको आलुको तुलनामा उच्च गुणस्तरको मानिन्छ । बुङमा खेती गरिएको आलुको स्वाद अन्य आलुको तुलनामा स्वादिलो हुने भएकोले बजारमा यो आलुको माग अत्यधिक हुने गरेको स्थानीय कृषकहरूको भनाई रहेको छ ।

शुद्ध अर्ग्यानिक तरिकाले गरिन यो प्रविधिको आलु खेती समुन्द्री सतह देखि २५ सय देखिमाथिको उचाइ रहेको लेकाली क्षेत्रमा मात्रै गरिन्छ । एउटा बुङमा करिब ५ देखिसम्म आलु फल्ने सिद्धिचरण नगरपालिका ६ ठाडेका कृषक हरि कुमार मगरले बताएको छ । यो प्रविधिले खेती गरिएको आलु रातो ठुलो दाना भएको प्रति के.जी ६० रुपैयाँ र मझौला खालको आलुको प्रति के.जी ५० रुपैयाँमा बिक्री गर्ने गरिएको समेत यहाका किसानहरूले बताएका छन् ।

बुङ बनाएर आलु खेती गर्दा आलु उत्पादनमा समेत वृद्धि हुने किसानहरूले बताएका छन् । यो प्रविधिले खेती गर्दा ३० रोपनी जमिनमा  १४ सय देखि १५ सम्म आलु उत्पादन हुने गरेको कृषकहरूको भनाई छ । शुद्ध अर्गानिक आलु भएकाले बजारमा खासै समस्या नभएको आलु कृषकहरूले बताएका छन् । उत्पादन भएको आलु ठेकेदारले ठेगेर विभिन्न ठाउँमा लाने गरेको र बाँकी रहेको आलु कृषकहरूले नै स्थानीय बजार ओखलढुंमा लगेर बेच्ने गरेको सिद्धिचरण नगरपालिका ६ का वडा अध्यक्ष मेघ बहादुर मगरले बताएका छन् ।

बुङ प्रविधि बाट आलु खेती गरेर फाइदा लिन सकिने भएता पनि यो खेतीका लागी केही चुनौतीहरू रहेका छन् । एक पटक खेती गरेपछि ४ देखि ५ वर्ष जमिन बाझो राख्नु पर्ने भएकोले कम जमिन भएका कृषकहरूलाई यो प्रविधिको आलु खेतीका लागी कठिनाइ रहेको छ । यो प्रविधिको खेती उच्च पहाडी भू-भागमा गरिने भएकाले हुस्सुका कारण पछौटे डढुवा रोगले आलु कृषकहरूलाई सताउने गरेको कृषि ज्ञान केन्द्र ओखलढुङ्गाका बागवानी विकास अधिकृत टिका बानियाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्