लमजुङका स्थानीय तहमा पशु पूर्णखोप कार्यक्रम



लमजुङ । लमजुङका सबै स्थानीय तहमा पशु पूर्णखोप कार्यक्रम सञ्चालन हुने भएको छ । गत आर्थिक वर्षमा जिल्लाका पाँचवटा स्थानीय तहमा मात्रै सञ्चालन भएको सो कार्यक्रम चालु आर्थिक वर्षमा जिल्लाका आठवटै स्थानीय तहहरुमा सञ्चालन हुने भएको हो ।

उक्त कार्यक्रमका लागि गण्डकी प्रदेश सरकारले एककरोड ४४ लाख रुपियाँ बजेट विनियोजन गरेको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा.रुपेश श्रेष्ठले बताउनुभयो । कार्यक्रम कार्यन्वयनका लागि कार्यविधि अनुसार गडक तथा खोपकर्ताहरु छनौटको क्रम शुरु भईसकेको डा.श्रेष्ठको भनाइ छ ।

पशु पूर्णखोप कार्र्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा लमजुङका करिव डेढलाख पशु चौपायले खोप पाएका थिए । गत आर्थिक वर्षमा पशु पूर्णखोप कार्यक्रम कार्यन्वयन भएका पाँच स्थानीय तहमा एक लाख ४५ हजार एकसय ५३ पशु चौपायमा खोप लगाईएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङले जनाएको हो ।

गत आर्थिक वर्षमा जिल्लाको मध्यनेपाल, बेसीशहर, सुन्दरवजार, राईनास र क्होलासोँथारमा सो कार्यक्रम सञ्चालन भएको थियो । कार्यालयका अनुसार जिल्लामा सवैभन्दा बढी मध्यनेपालमा ४० हजार ४० वटा पशु चौपायाले खोप पाएका छन् । सो बाहेक बेसीशहरमा ३४ हजार तीनसय २३ र सुन्दरवजारमा २९ हजार चारसय ७२ पशु चौपायले खोप पाएका छन् । यस्तै राईनासमा २४ हजार चारसय ८० र क्होलासोँथारमा १६ हजार आठसय ३८ पशु चौपायाले खोप पाएको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा पाँचवटा स्थानिय तहहरुमा पशु पूर्णखोप कार्यन्वयनमा सञ्चालन भएपनि उक्त वर्ष पूर्णखोप युक्त पालिका घोषणा भएको थिएन । कार्यक्रम सञ्चालन भईरहँदा जिल्लामा देखिएको अफ्रिकन स्वाईन फिवरका कारण खोप प्रभावित भएको भन्दै सो वर्ष कुनैपनि पालिकालाई पूर्णखोप युक्त पालिका घोषणा नगरीएको कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेश सरकारले शुरुका वर्षमा जिल्लाका दुई स्थानीय तहमा पशु पूर्णखोप कार्यक्रम सञ्चालन गरेको थियो । अघिल्लो आर्थिक वर्ष बेसीशहर, सुन्दरवजार र मध्यनेपालमा पशु पूर्णखोप कार्यक्रम सञ्चालन भई सम्वन्धीत स्थानीय तहहरुलाई पशु पूर्णखोप युक्त पालिका घोषणा गरीएको थियो ।

शुरुको बर्षमा मध्यनेपाल र बेसीशहर नगरपालिकामा कार्यक्रम सञ्चालन भएको थियो भने दोस्रो वर्ष सुन्दरवजारमा पनि सोही कार्यक्रम थप भएको थियो । गत आर्थिक वर्षमा भने जिल्लाको क्होलासोँथार गाउँपालिका सहित चारवटा नगरपालिकामा पशु पूर्णखोप कार्यक्रम सञ्चालन भएको थियो ।

कार्यक्रमअन्तर्गत जिल्लाका व्यवसायिक फार्महरुमा गाईभैसी, भेडा बाख्रा, बंगुर, कुकुर, विरालो एवं कुखुराहरुमा आवश्यक सवै खाले खोप लगाउने गरीएको कार्यालयले जनाएको छ । पहिलो चरणमा स्थानीय तहमा पालिएका पशुपक्षीको गणना गरी संख्या एकीन गर्ने र खोप लगाउने कार्यक्रम हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्