चीनको उहान : त्रासदी हैन, अविष्मरणीय रोमाञ्चक यात्रा



गत जेठ २२ गतेको कुरा हो । झन्डै ३ सय मानिस बोकेर आकाशिँदै गरेको चाइना साउदेन एयरलाइन्सको चीलगाडीले बादलुसँग लुकामारी गरिरहँदा मेरो मन भने एउटा सुखद यात्राको रोमाञ्चमा गन्तव्य पहिल्याउँदै थियो । चीलगाडीले नेपालको सीमा नाघेर चीनको आकाशलाई गोरेटो बनाउँदै निरन्तर हुइँकिरहँदा मैले सम्झनाको तख्तामा केही योजनाहरु कोचिरहेको थिएँ । गन्तव्य पुगेर ती योजनाहरु खोली कार्यान्वयनको चरणमा कसरी प्रवेश गर्न सकिएला ? मस्तिष्कले आफैँलाई प्रश्न गरिरहेको थियो । जवाफमा सलबलिएका मेरा योजना कार्यान्वयनका पाइलाहरु बादलभित्र हराउँदै गर्दा चलमलाउने चीलगाडीको कम्पनले लर्खराउनसमेत भ्याएका थिए ।

त्यसो त म चीनमा यसअघि दुईपटक पुगिसकेको थिएँ । पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल र अग्रज पत्रकार किशोर श्रेष्ठको सिफारिसमा । तर चीन जाने र त्यहाँको चमत्कारी परिवर्तनलाई नजिकबाट नियाल्ने मेरो लालसा कायमै थियो । त्यसैले मैले नेपाल चीन हिमालयन फ्रेन्डसिप सोसाइटीका महासचिव रिनन पोखरेललाई सम्झाउँदै थिएँ– लु है उताबाट बोलावट आउँदा मेरो नाम छुट्ला नि ! उनी लगभग रेडिमेड जवाफ दिन्थे– कोरोनाका कारण त्यस्तो अवसर आएकै छैन ।

शायद जेठको पहिलो हप्ताताका हुनुपर्छ, एक बिहान रिननले फोन गरेर पासपोर्ट पठाइदिन भने । मैले पासपोर्ट पठाइदिएँ । हो, यसरी मेसो मिल्यो तेस्रोपटक चीनको गन्तव्य पहिल्याउने ।

पत्रकार गोकर्ण भण्डारी र आईटी इन्जिनियर किरण दाहाल मेरा सहकर्मी थिए चीन भ्रमणको । हाम्रो चीन गन्तव्य थियो हुवे प्रान्तको राजधानी उहान । चीन जाने हल्ला–हल्लाकै बीच–बीचमा धेरैले भन्थे उहान ! कोरोनाको उद्गम थलो ! जोगिएर आउनु है, कोरोना बोकेर ल्याउनुहोला । मेरो मनको अन्तरकुन्तरमा पनि उहानको कोरोना त्रास, रयलपयल छँदै थियो । कोरोनाको उद्गम थलो उहान भनेका छन्, विश्वभर हजारौं मानिसको मृत्यु भयो त्यही कोरोनाले । साँच्चै उहान त भयङ्कर त्रासमा होला । एउटा सेमिनारको लागि उहान पुगेको म थोरै चिन्तामै थिएँ । मनले भन्दै थियो– खै कसरी पो २० दिनको चीन बसाइ सुखद बनाउने !

नेपालबाट उडेको पहिलो रात चीनको छेन्डुमा बिताउनुप¥यो । त्यही दिन अर्को विमानबाट उहान उड्ने निर्धारित कार्यक्रममा केही परिवर्तन भएर एकरात छेन्डुमा बस्ने कार्यतालिका बनेको थियो । छेन्डुको अन्तर्राष्ट्रिय विमानस्थलबाट एकरातको गन्तव्य होटलतर्फ लम्कँदै गर्दा चीनको सफाइ सभ्यताले मनलाई सुगन्धित र आनन्दित तुल्याइसकेको थियो ।

भोलिपल्ट साउदेनकै चीलगाडीबाट आन्तरिक उडानमार्फत उहानको आकाश चुम्दै गर्दा जमिनमा देखिएको विकास मोडलले कोरोना भयलाई बिस्तारै छोप्दै लगिरहेको थियो । एयरपोर्ट उत्रिएर बाहिरिने क्रममा एकजना सानो गाठीको हँसिली युवती इमीले हामीलाई आत्मीय मुस्कानसहित स्वागत गरिन् । र ट्याक्सीमा राखेर चीनको हाम्रो मुख्य गन्तव्य युच्याङ डिस्ट्रिकको लुज्यास्यान स्ट्रिटमा रहेको सुईफिउ होटल पु¥याइन् । त्यहाँ उस्तै आत्मीय स्वागतमा तयार थिए माई फ्रेन्ड (ब्रायन) र डान । यी तीनजनाको मुस्कानसहितको आतिथ्यताले अघिल्लो दिनसम्मको कोरोना त्रास करिब–करिब अन्त्य नै भयो ।

उहान चामल, माछा र नदी तथा पोखरीहरुको लागि सिंगो चीनभरिनै प्रसिद्ध छ । उहान रिसर्च इस्टिच्युट अफ पोस्ट एन्ड टेलिकम्युनिकेसनका प्रमुख थाउ चु योङ भन्दै थिए– उहानले उत्पादन गरेको चामल र माछा आधा चीनलाई पुग्छ । यहाँको विशाल याङ्जी नदीले उहानलाई तीन भागमा विभाजन गरिदिएको छ । हान स्टेटमा रहेको चु नदी पनि पर्यटकलाई आकर्षित गर्न दिनरात तल्लीन देखिन्छ । उहानका विभिन्न स्ट्रेटमा रहेका सुपरमार्केट, बजार र पर्यटकीय पार्कहरु सधैँजसो आन्तरिक पर्यटकले नै भरिभराउ देखिन्छ । यो शहर सफा, सुन्दर र सभ्य ढङ्गले आर्थिक लयलाई पछ्याउँदै चीनको राजधानी बेइजिङ, साङ्घाई, गोन्जाओ, छेन्डुजस्ता अन्य शहरहरुसँग अनवरत दौडमा रहेको छ ।

कोरोना महामारीले विश्वभरिनै हलचल मच्चाइरहेको बेला उहान समाचारको हेडलाइनमा थियो । हामीले घर–टोलको चौघेरामा कुँजिएर बसेको बेलै पढेका हौँ– उहानका नागरिकलाई चीन सरकारले घरभित्रै थुनेर राखेको छ, बेला–बेलामा ब्रेड र केही खान्कीहरु सरकारका प्रतिनिधिले ढोकाको चेपबाट दिने गर्छन् । यो समाचार पढिरहँदा हामीले उहानलाई मृत शहर कल्पना गरेका थियौँ । ओहो ! बरु हामी पो सुरक्षित रहेछौं, कमसेकम सीमित क्षेत्रमा खुल्लंखुल्ला हिँडडुल त गरिरहेका छौं । खानेकुरामा स्वतन्त्र त छौं । यो हाम्रो आत्मरति थियो । मलाई लाग्छ, त्यही आत्मरतिले धेरै नेपालीलाई जीवित राखिदियो त्यति बेला ।

तर, त्यति बेलाको आत्मरतिको प्रभाव अहिले भोगिरहेका छौं हामी । हाम्रो आर्थिक अवस्था निक्कै गम्भीर मोडमा पु¥याइदियो । कोरोनाबाट तङ्ग्रिएको तीन वर्ष लाग्दै गर्दा पनि हामी आर्थिक दूरावस्थाबाट भने अझै तङ्ग्रिन सकेका छैनौं । कोरोना कहरकै कारण धेरैको व्यवसाय चौपट भयो, घरबारविहीन बन्नुपर्ने अवस्था बन्यो, कतिले त आत्महत्यालाई आफ्नो अन्तिम विकल्प बनाए ।

हामीले मृत शहर कल्पना गरेको उहान भने अझ बढी उर्वर बनेको छ । उहानका चोक र बजारमा टहलिँदा लाग्दैन यो शहरले कुनै बेला कोरोनाको भयङ्कर पीडा खेपेको थियो । चीनको विकास मोडल हामी नेपालमा बसेर कल्पनै गर्न सक्दैनौं । उहाँनले हरेक विकास मोडललाई मिहीन ढङ्गले कार्यान्वयन गरिरहेको छ । जमिनमुनिको मेट्रो रेल, सब–वे, सुपरमार्केट हाम्रो लागि कहाली लाग्दो छ । एउटा प्रवेशद्वारबाट भित्रिएपछि त्यही ठाउँबाट निस्कने कुरा कमसेकम हाम्रो लागि कल्पनाबाहिरकै लाग्यो । जता हे¥यो उस्तै मोडल ।

उहानमा कोरोनापछि इन्टरनेट प्रयोगकर्ताको संख्या दश प्रतिशतले वृद्धि भयो रे ! उहानको मात्र हैन, सिंगो चीनको समाज हाइटेक प्रविधिमा गैसकेको छ । इन्टरनेटविना एकछाक खानेकुरा पनि असम्भवजस्तै बनेको छ उहान र सिंगो चीनमा । रेल चढ्नुस्, पार्कमा घुम्न जानुस्, बजारमा सामान खरिद गर्न जानुस्, ट्याक्सी चढ्नुस्, रेस्टुरेन्टमा नास्ताको लागि जानुस्, सबै ठाउँमा अनलाइन पेमेन्ट छ । कहीँ कतै हामीले कागजी नोट निकालेर दिँदा चिनियाहरु आश्चर्य मानिरहेका हुने ।

सेमिनारको खाली समय हामी कतै घुमेर बसमा फर्कंदै थियौं । बाटोमा साना गाडीहरुको निक्कै चाप देखियो । ब्रायनले मुस्कुराउँदै भने– ‘माफ गर्नुस्, यो ट्राफिक जामले तपाईंहरुलाई असुविधा भएको छ तर यो उहान शहरको आर्थिक विकासको उदाहरण हो ।’ किन ? भनेर मैले प्रश्न गरेँ । उनले ठट्यौली पारामा भने– ‘यहाँका सबै स्थानीय कार किन्न सक्ने हैसियतमा पुगेका छन् र यो जाम भएको छ । सबै जनता कारमा सयर गर्नुको अर्थ सबै सम्पन्न हुँदै छन् ।’ उनको कुरा भलै ठट्यौले थियो तर सत्य थियो ।

सेमिनारको मुख्य व्यवस्थापक ब्रायन भन्दै थिए– उहानमा कोरोनापछि आर्थिक वृद्धि थप चुलिएको छ । मैले उनलाई सोधेँ– यो सबै कसरी सम्भव भयो ? उनले भने– समयप्रतिको सजगता, सरकार र कम्युनिस्ट पार्टीको प्रतिबद्धता र स्थानीयको तदारुकता नै उहानको विकासको मूल पक्ष हो । साँच्चै यहाँका बासिन्दा इमानदार छन्, लगनशील छन्, कामप्रति सजग छन् । सँगसँगै खानेकुरा र घुम्ने कुरामा निक्कै सौखिन पनि छन् ।

उहानका बासिन्दा कोरोनाको चोट सम्झन चाहँदैनन् । त्यो समय भुलेर उनीहरु नयाँ उत्साहका साथ पुरानै लयमा फर्की सकेका छन् । कसले भन्छ उहान कुनै समय मृत्यु शैय्यामा पुगेको थियो भनेर ? यहाँ मानिस आफ्नै गतिमा दौडिरहेका छन् । सबैलाई चटारो छ, आफ्नो जिम्मेवारीको । पर्यटकीय स्थल खचाखच छ, रेस्टुरेन्ट छिर्न पालो पर्खनुपर्छ, सपिङ महलहरुमा थेगिनसक्नुको भीड देखिन्छ ।

कोरोनाले उहान शहरमा मानिस र मानसिकतामा निक्कै ठूलो क्षति पुग्यो, फेरि पनि उहानले आफ्नो लय छोडेन, उहानवासीले आफ्नो लक्ष्य छोडेनन् । त्यसैले उहान चीनको सम्पन्न र शक्तिशाली शहरहरुमा दरिन पुग्यो । विकासको लागि नेतृत्वको तदारुकता र कार्यक्षमता तथा कानुनको सक्रियता आवश्यक हुन्छ । यो सबै कुरा चीनसँग छ, उहानसँग छ । त्यसैले छोटो समयमै दीर्घकालीन महत्वको काम हुन सकेको छ यहाँ । अनि अनावश्यक झटारोको चोटबाट प्रताडित उहानको चमत्कारी विकासमा सहकार्य तथा साझेदारी गर्न सकेका छन् स्थानीयले ।

म भन्छु– उहानलाई गाली गर्ने मुलुकले अब झन् यसको औचित्य पुष्टि गर्ने हैसियत नै राख्दैनन् । कुकुर भुक्दै छ, हात्ती लम्कँदै छ !

प्रतिक्रिया दिनुहोस्