व्यस्त ब्यक्तिका लागि सहज जीवन

0
Shares

काभ्रे। 

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र बनेपाले ‘व्यस्त ब्यक्तिका लागि सहज जीवन विषयक विचार गोष्ठी’ बनेपामा सम्पन्न भएको छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र धुलिखेलकी सञ्चालिका लक्ष्मी दिदीको अध्यक्षता तथा बनेपाकी सञ्चालिका लक्ष्मी दिदीको स्वागत रहेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।

‘लिएर आएको केही छैन, लिएर जाने पनि केही हैन । हारेको केही छैन । हार्ने पनि केही छैन । सधैँ संसार जित्ने आशासहित हरेक दिन सकारात्मक अपेक्षा सहित सक्रिय हुनु पर्छ’–जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले भने–‘ब्रह्मकुमारी राजयोग सेवा केन्द्रमा पुग्दा छचल्किएका मनहरु शान्त हुनेछन् ।’ बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले ईश्वरीय र आध्यात्मिक ज्ञानका लागि ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको अभियान महत्त्वपूर्ण भएको बताए । व्यस्त ब्यक्तिका दैनिकीहरु अस्तव्यस्त भएको अवस्थामा यस्ता कार्यक्रम महत्त्वपूर्ण भएको बताए ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले मान्छे नचाहिने र अनावश्यक विषयमा तनाव लिन थालेकाले तनावमुक्त जीवन जिउन अनावश्यक विषयमा चासो नलिन र नदिन अनुरोध गरे । ‘व्यक्ति सकारात्मक भन्दा नकारात्मक तर्फ धेरै केन्द्रित हुन थालेको छ’–प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भने–‘नागरिकहरुलाई सकारात्मक सोच तर्फ केन्द्रित गराउन अनावश्यक विषयमा तनाव नलिनलाई केन्द्रित गर्नु पर्छ ।’

विचार गोष्ठीमा व्यस्त ब्यक्तिका लागि सहज जीवन बिताउनका लागि व्यक्तिले अपनाउनु पर्ने रहनसहन, दिनचर्या, खानपान र समयको व्यवस्थापन महत्त्वपूर्ण हुने सहजकर्ता ब्रह्मकुमार विजयराज सिग्देलले बताए । त्यस्तै ब्रह्मकुमार रमणकुमार भट्टराई, उद्योगपति सुशील अग्रवाल लगायतले सकारात्मक सोच र सहज जीवनका लागि जीवनशैली परिवर्तन गर्न सुझाव दिए ।