संसद अवरुद्ध पारेर एमालेले जनतामाथि अन्याय गरेको छ : उपमहासचिव शर्मा  



सिन्धुली। 

नेकपा(माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले प्रमुख प्रतिपक्ष दल एमालेले संसदमा अवरोध गरेर जनतामाथि अन्याय गरेको बताएका छन् । सिन्धुलीमा शनिवार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उप महासचिव शर्माले एमालेको अवरोधका कारण संसदमा जनताको समस्याहरु उठाउन नपाइएको बताए ।‘ आज बाढी पहिरोहरुले धनजनको क्षति गरी रहेको छ । जनताको आवश्यकता र समस्याहरुका बारेमा आवाज उठाउन पाइरहेका छैनौं’ उनले भने।

पूर्व अर्थमन्त्री समेत रहेका  शर्माले सुन तस्करी प्रकरणलाई राजनीतिक एजेन्डा बनाएर अनुसन्धान प्रक्रिया बिथोल्न एमालेले उच्चस्तरीय छानबिन समितिको माग गरेको आरोप लगाए । ‘प्रतिपक्ष दलले सुन तस्कारीको मुद्दालाई राजनीतिक एजेन्डा बनाएर संसद अवरोध गर्नु उचित होइन’ उनले भने ।

उनले सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले गरी रहेको छानबिनलाई बिचैमा राखेर अर्को छानबिन गराउँदा भएका प्रमाणहरु झन नष्ट हुन सक्ने बताए ।

उनले सिआईवीले गरेको अनुसन्धान प्रक्रियाबाट निस्कनेको प्रमाणहरुमा चित्त नबुझे वा थप छानबिन गर्नु परेमा आगामी दिनहरुमा अन्य छानबिन समितिहरु बनाउन सकिने बताए ।

संसदको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले प्रतिपक्ष दलका नेताहरु, गठबन्धन दलका नेताहरु, सभामुख लगायतका निकायहरुसँग बैठक, छलफल गरिरहेको उनले बताए ।

उनले सुन तस्करी प्रकरणमा नाम मुछिएका पार्टीका उपाध्यक्ष कृष्ण बहादुर महरालाई अनुसन्धान र छानविनमा दोषी देखिए कारवाहीको दायरामा ल्याउन पार्टीले नरोक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्