१६ औं आवधिक योजनालाई दिगो विकासका लक्ष्य पूरा गर्न केन्द्रित गरिने

0
Shares

काठमाडौं,
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठले आर्थिक क्षेत्रमा लक्ष्य भेटाउन नसकिए पनि सामाजिक क्षेत्रमा नेपालले राम्रो प्रगति प्राप्त गरेको जिकिर गर्दै दिगो विकासका लक्ष्यहरु हासिल गर्न सरकार कटिवद्ध भएर लागेको बताएका छन् । राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्रसंघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यशाला गोष्ठीको उद्घाटन समारोहमा बोल्दै उपाध्यक्ष डा। श्रेष्ठले विभिन्न चुनौतीका बाबजुद विकासशील मुलुकमा स्तरोन्नतिका लागि तोकिएका मापदण्ड पुरा हुनु सकारात्मक पक्ष भएको भन्दै आगामी १६ औं आवधिक योजनालाई दिगो विकासका लक्ष्य पूरा गर्न केन्द्रित गरिने बताए ।
उनले दिगो विकासका लक्ष्यहरु कार्यान्वयनको अनुगमन संसदीय समिति र महालेखा परीक्षकको कार्यालयलगायतका निकायद्वारा गरिँदै आएको र दिगो विकासका लक्ष्य प्राप्तिका लागि नेपालले संस्थागत रुपमा संयन्त्र बनाएको जानकारी पनि दिए । उपाध्यक्ष डा. श्रेष्ठले उत्पादन, रोजगार, कृषि र उद्योग क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिंदै दिगो विकासका लक्ष्य हासिल गर्न निजी क्षेत्र, विकास साझेदारी संस्था र नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताए ।


कार्यक्रममा नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना सिंगर हाम्डीले नेपालको प्रदर्शन विश्वको औसतभन्दा भने राम्रो रहेको बताइन् । उनले कोभिड महामारी, रुस युक्रेन युद्धसहितका कारण संसारभर दिगो विकास लक्ष्य प्रभावित बनेको सन्दर्भमा नेपालले गरिबी, मातृ मृत्यु न्यूनीकरण, जन्मदर्ता र प्रमाणीकरण, विद्यालय भर्ना, राजनीतिमा महिलाको सहभागिता वृद्धिसहितका क्षेत्रमा राम्रो प्रगति गरेको भन्दै प्रशंसा गरिन् । दीगो विकास लक्ष्य केवल ग्राफको रेखा मात्र नभएको जिकिर गर्दै उनले भनिन्– “दीगो विकास लक्ष्य भनेको स्वस्थ आमा र स्वस्थ बच्चा पनि हो । त्यस्तै बालबालिकाहरुले आफ्नो क्षमताअनुसारको शीप सिक्नु, अभिभावकले आफ्नो परिवारको राम्रो लालनपालन गर्नसक्नु पनि हो । दीगो विकास लक्ष्य एउटा त्यस्तो विश्वको लक्ष्य हो, जहाँ हरेकले मानवअधिकार र मानव गरिमा हासिल गरुन् । दीगो विकास लक्ष्य हासिल गर्न विश्वका साथै नेपालको लागि पनि अझै कठीन यात्रा हो । तर हामी सबै मिलेर यो बाटो तय गर्न सक्छौं र गर्नैपर्छ पनि ।”

सन् २०१५ मा संयुक्त राष्ट्रसंघका नेपाललगायत सबै सदस्य राष्ट्रले दिगो विकास लक्ष्य २०१६–२०३० अनुमोदन गरी यसको कार्यान्वयन आरम्भ गरेका थिए । राष्ट्रसंघले आगामी महिना दिगो विकास लक्ष्यसम्बन्धी शिखर सम्मेलन आयोजना गर्दैछ । सम्मेलनअघि सबै सदस्य राष्ट्रले राष्ट्रिय स्तरमा प्रगति समीक्षा गर्ने क्रममा नेपालमा समेत यस्तै समीक्षा कार्यशाला गोष्ठीको आयोजना गरिएको हो ।


दिगो विकास लक्ष्यअन्तर्गत शून्य गरिबी, शून्य भोकमरी, राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर, गुणस्तरीय शिक्षा, लैङ्गक समानता, स्वच्छ पानी र सरसफाइ, खर्चले धान्न सकिने स्वच्छ उर्जा, मर्यादित काम र आर्थिक वृद्धि, उद्योग प्रवर्तन र पूर्वाधार, असमानता हटाउने, शहरहरु र सर्वाङ्गीण दिगोपना, उपभोग र उत्पादनमा जिम्मेवारीपना, जलवायुसम्बन्धी कार्य, जलमुनिको जीवन, भू(सतहको जीवन, शान्ति, न्याय र समृद्ध संस्था र लक्ष्यहरुका निम्ति साझेदारी रहेका छन् ।
कुल ३०१ वटा सूचकहरु बनाएर कार्यान्वयन गरिएको यी लक्ष्यहरुको कार्यान्वयन प्रगति दर सन् २०३० सम्म ५९।७ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।