यू एन्डे र प्रधानसेनापति शर्माबीच शिष्टाचार भेट



काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ जनमुक्ति सेनाको तिब्बत मिलिटरी कमान्डका मेजर जनरल यू एन्डे र प्रधानसेनापति प्रभुराम शर्माबीच सैनिक मुख्यालयमा बुधबार शिष्टाचार भेट भएको छ ।

कोरोना महामारीपछि चीनबाट भएको उच्चस्तरीय सैन्य भ्रमण हो ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा आपसी चासोका विषयमा छलफल भएको सैनिक मुख्यालयले जनाएको छ ।

मेजर जनरल यू एन्डेको नेतृत्वमा ८ सदस्यीय बोर्डर डिफेन्स प्रतिनिधि मण्डल बुधबार नेपाल भ्रमणको लागि आएको हो ।

उक्त टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपरथी सागरबहादुर थापाले स्वागत गर्नुभएको थियो । पाँचदिने भ्रमणको दौरान उक्त टोलीले सैनिक कमान्ड तथा स्टाफ कलेज, सैनिक संग्रहालयलगायतका सैनिक इकाइका साथै काठमाडौं र पोखरास्थित ऐतिहासिक एवं पर्यटकीय स्थलहरूको भ्रमण गर्नेछ ।

यस किसिमको भ्रमणले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्