कक्षा १२ को नतिजा आज ५ बजे सार्वजनिक गर्ने तयारी

0
Shares

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझ ५ बजे सार्वजनिक गर्न तयारी गरेको छ । बोर्डले नतिजा सार्वजनिक गर्न साँझ ५ बजे बोर्ड बैठक बोलाएको छ ।

गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका अनुसार आज ५ बजे नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ, प्राविधिक समस्या आए मात्रै भोलिका लागि सर्नेछ, अन्यथा आजै नतिजा सार्वजनिक गरिनेछ ।

देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए ।

बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए । प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरे मात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

गत वर्ष ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।