रिगाउँमा जमिन धाँजा फाटेपछि ५० परिवार विस्थापित

0
Shares

धादिङ।

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर १ रिगाउँमा धाँजा फाटेपछि ५० परिवार विस्थापित भएका छन् । गाउँ क्षेत्रमा गाउँ नै पहिरोमा पर्ने गरी धाँजा फाटेकोले रिगाउँबासी सोमबार बिहानबाट गाउँ छाडेर नजिकैको छिमेकीको घरमा आश्रय लिन पुगेका हुन् ।

वस्ती माथिबाट जमिन भासिन थालेको छ । भासिन थालेको स्थान भन्दा तलका घरहरु खाली गर्न थालिएको छ । धाँजा फाटेर भासिन थालेको सिधा मुनी परेका ५० घर बिस्थापित भएकोले छिमेकीको घरमा नजिकैको विद्यालयको एक भवनमा राखिएको वडा अध्यक्ष बहादुरसिंह तामाङले बताए ।

सोमबार बिहान गाउँबासीले जमिनमा धाँजा फाटेको देखेपछि छलफल गरिएको थियो । २०७२ को भूकम्पपछि भूगर्भ विदले समेत बस्न अयोग्य भनेको थियो । तिन दिनदेखि लगातारको वर्षले गाउँनै पहिरो जानेगरि धाँजा पाटेकोले रिगाउँ नै असुरक्षित भएको स्थानीय प्रकाश तामाङले बताए ।

बृद्धबृद्धा र बालबच्चालाई सुरक्षित स्थानतर्फ सारिएको छ । जो सकेको अन्नपात, लत्ताकपडा र अत्यावसेक सामानहरु घरबाट निकालेर सुरक्षित स्थानतर्फ लैजादै गरिएको छ । अहिले त्यहाँका स्थानीयले घरायसी सरसामान र वस्तुभाउलाई सुरक्षित स्थानतर्फ सारिरहेको र साँझसम्म ५० परिवार सुरक्षित राखिने पास्टर खसार्की तामाङले टेलिफोनबाट जानकारी दिए ।

आसपासका धाँजा फाटेको क्षेत्रमा ६२ घर रहेको छ । विद्यालयमा ४ सय विद्यार्थी अध्यायन गर्ने भएकोले पानी पर्न नरोकिएसम्मका लागि विद्यालय समेत बन्द गरिएको छ ।

कुनैपनि बेला पहिरो झर्न सक्ने जाखिम उच्च भएपछि रिगाउँ माविको पठनपाठन बन्द गरिएको छ । स्कुलको २ वटा भवनमध्ये २० कोठे नयाँ भवन पनि जोखिमा रहेको छ । २ वर्ष अघि निर्माण गरिएको खानेपानीको ट्याङकी पनि बगाउने जोखिम छ ।

लगातार पानी परिरहेको छ । सोमबार पानी अलि कम भएको छ । घाँसकाट्न जाने क्रममा धाँजा देखिएको थियो। गाउँमाथि ६० मिटरभन्दा धेर भाग ५/६ मिटरसम्म फराकिलो भएर फाटेपछि गाउँमा बस्न नसकिने अवस्थामा पुगेको छ। मानिसहरुलाई सुरक्षित राखेर अत्याबस्यक पर्ने त्रिपाल र ओछ्याउने म्याट वितरण गरिने गाउँपालिका अध्यक्ष भक्त लामाले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष लामासहितको टोलीले सोमबार प्रमुख जिल्ला अधिकारीलाई भेटेर पीडितहरुका लागि तत्काल गर्न सकिने सहयोग गर्न अनुरोध गरिएको छ। नेपाल रेडक्रससोसाइटी धादिङका अध्यष दुर्लभकुमार तामाङले विस्थापितहरुका लागि अन्न र भाँडा घरबाट ल्याउन सकिने भएकोले त्रिपाल र म्याट दिने बताएका छन् ।