रोनाल्डोको गोलमा अल नासरलाई उपाधि



रियाद, (एजेन्सी) । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल योगदान गरेपछि अल नासरले अरब क्लब च्याम्पियन्स कप २०२३ को उपाधि जितेको छ ।

किङ पाद स्टेडियम साउदीमा शनिबार राति भएको फाइनलमा अल हिलाललाई २–१ गोलअन्तरले पराजित गर्दै अल नासर उपाधि जित्न सफल भएको हो । अल नासरको जितमा दुवै गोल टोलीका कप्तान समेत रहेका रोनाल्डोले गरेका हुन् । त्यस्तै, हिलालका लागि एक गोल माइकलले गरे ।

प्रतियोगितामा रोनाल्डो सर्वाधिक गोल गरेर गोल्डेन बूट जित्न पनि सफल भए । उनले लगातार पाँच खेलमा गोल गर्ने क्रममा कूल ६ गोल गरेका थिए । सेमिफाइनलमा अल नासरको एक गोल मात्र उनले नै गरेका थिए । यस्तै फाइनलमा पनि टोलीबाट भएको दुबै गोल उनीबाटै भएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५१औं मिनेटमा माइकलले गोल गर्दै अल हिलाललाई पहिलो अग्रता दिलाएका थिए । ७४औं मिनटमा रोनाल्डोले गोल गर्दै खेललाई १–१ बराबरीमा ल्याएका थिए । त्यसपछि निर्धारित समय १–१ को गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

खेलको ९८औं मिनटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरलाई २–१ को जित दिलाए । यससँगै रोनाल्डो नासरबाट पहिलो उपाधि जित्न सफल भएका छन् । गत सिजन नासर पुगेका रोनाल्डो पहिलो सिजन अल नासरलाई उपाधि जिताउन असफल बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्