हेलिकोप्टरमाथि प्राधिकरणको बदनियत : सिम्रिक एयर



काठमाडौं । नेपाल उड्डयन प्राधिकरणको पछिल्लो निर्देशनअनुसार सिम्रिक एयर बिहीबार गोरखाको स्यालामा चार्टर्ड उडानको लागि अनुमति लिन पुग्यो ।

तर, प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सिम्रिक एयरको उडानमा प्रतिबन्ध लगाउन भनेका छन् भन्दै एयर ट्रान्सफर डिभिजनले उडान अनुमति नदिएपछि कम्पनीले आफूमाथि लागेको प्रतिबन्ध बल्ल थाहा पायो ।

नियामक निकायले कुनै औपचारिक जानकारीबिना नै प्रतिबन्ध लगाएको र सञ्चारमाध्यममा भ्रामक समाचार सम्प्रेषण गरेकोमा कम्पनीले आपत्ति जनाएको छ ।

सिम्रिक एयरका हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको भन्ने समाचारमा कम्पनीले खण्डन गरेको छ । प्राधिकरणलाई तिर्नुपर्ने बक्यौताको सम्बन्धमा सञ्चार माध्यममा आएजस्तो वास्तविकता नभएको कम्पनीका महाप्रबन्धक मुरलीधर जोशीले बताए ।

वार्षिक रूपमा खाताबन्दीको क्रममा छुटफुट तथा बक्यौता राफसाफ नियमित प्रक्रिया भएको र समयअगावै र जानकारीबिना प्रतिबन्ध लगाउने प्राधिकरणको व्यवहार कानुनसम्मत् नभएको उनले बताए ।

‘हामीले सेवा लिएबापत प्राधिकरणले बिल पठाउने र हामीले तिर्ने गर्छौं । यो क्रममा कति हिसाबको बिलिङ छुटिरहेको हुन्छ, कतिको हामीले दाबी गरिरहेका हुन्छौं । वर्षको अन्तिममा हिसाब मिलान गरिन्छ, प्राधिकरणले पठाएको पत्रअनुसार तीन–चार ठाउँको हिसाब तिर्नुपर्ने देखाएको थियो,’ जोशीले भने । सोहीअनुसार रुजु गर्ने क्रममा नै कम्पनी रहेको थियो । फेरि, कम्पनीले कुन विमानस्थलको कति बक्यौता भनी बुधबार अर्थात् साउन २४ गते मात्र कम्पनीलाई चिठी पठाएको थियो । उनका अनुसार कम्पनीले विमानस्थलमा लिएको सेवाबापत विभिन्न शीर्षकमा वार्षिक करिब २ करोड रुपियाँ प्राधिकरणलाई तिर्ने गर्छ ।

सञ्चारमाध्यममा आएका समाचारप्रति कम्पनीले खण्डन गर्दै प्रेस विज्ञप्ति निकालेको छ । सिम्रिक एयरको नाममा प्राधिकरणले यही साउन २१ गते चलानी नम्बर १७ को पत्रअनुसार ७ दिनभित्र हिसाबमिलान गर्न आउन भनी पत्राचार गरेको विज्ञप्तिमा उल्लेख छ ।

७ दिनको समयअगावै बदनियतपूर्ण तरिकाले, पूर्वाग्रही ढगंले, प्रतिशोध साँध्ने उद्देश्यले आफ्नो अधिकारको दुरुपयोग गरी यस संस्थाको गरिमामा आँच र्पुयाउने कपोलकल्पित झुटा र भ्रामक समाचार सम्प्रेषण गरेको कम्पनीको भनाइ छ ।

यस कम्पनीले सेवा उपभोग गरेबापतको रकम प्राधिकरणलाई क्रमिक रूपमा बुझाउँदै आएको छ । आर्थिक वर्ष २०७९–०८० को छुटफुट रकमका सम्बन्धमा यस कम्पनीको उडान विवरण र हिसाबसँग रुजु भई मेल खाएमा भुक्तानी गर्ने र नभएमा सच्याउनका निम्ति प्राधिकरणलाई अनुरोध गर्ने प्रक्रिया एवं व्यवहार रहिआएको छ ।

‘सोही क्रममा लुक्ला विमानस्थलको हिसाब यकिन भई करिब १५ लाख रुपियाँ भुक्तान गरिएकोे छ । ताप्लेजुङ विमानस्थलको हकमा विमानस्थलको कार्यालयलाई हिसाब सच्याउन तथा अध्यावधिक गर्न इमेलमार्फत कागजात पठाई निवेदन गरिएको छ,’ जोशीले भने । कम्पनीका अनुसार ताप्लेजुङ विमानस्थलको करिब ६ लाख रुपियाँ बक्यौता सिम्रिकले तिरिसकेकोले त्यसलाई बक्यौतामा नराख्ने गरी भुक्तानीको बिलसहित इमेल गरिएको छ ।

काठमाडौं विमानस्थलमा भने उडान संख्या बढी हुने भएकाले हिसाब मिलानकै क्रममा रहेकोले रुजु एवं मिलान हुनासाथ भुक्तान गर्ने तयारीमा रहेको कम्पनीको दाबी छ । काठमाडौं विमानस्थलमा २७ लाख रुपियाँको बक्यौता रहेको प्राधिकरणको हिसाब छ । प्राधिकरणले हवाई कम्पनीलाई अवतरण, नेभिगेनि, पार्किङ, सञ्चालनलगायतका शीर्षकमा विमानस्थल सेवा शुल्क नियमावलीअनुसार भिन्न शुल्क लिने गर्छ ।

विगत केही समयदेखि प्राधिकरणले निजी क्षेत्रबाट सञ्चालित हवाई सेवा प्रदायक कम्पनीलाई विभिन्न बहानामा प्रत्यक्ष अप्रत्यक्ष रूपमा निरुत्साहित गर्ने गरेको कम्पनीको विज्ञप्तिमा भनिएको छ । सोको विरुद्घमा आवाज उठाएको हुनाले कम्पनीलाई नै लक्षित गरी भ्रम सिर्जना गर्न खोजिएको नियत प्रस्ट देखिने कम्पनीको भनाइ छ ।

सिम्रिक एयरले विगत २१ वर्षदेखि हेलिकाेप्टर सेवा प्रदान गर्दै आएको छ । विभिन्न दैवीप्रकोप, आपत्कालीनलगायत भौगोलिक विकटता भएको स्थानमा उद्धार एवं राहतको कार्य गरी निरन्तर एवं सुरक्षित सेवा दिँदै आएको कम्पनीसँग हाल ४ हेलिकाेप्टर छन् ।

प्रतिक्रिया दिनुहोस्