‘सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउँछौ’ : मन्त्री बस्नेत

 नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ सार्वजनिक

0
Shares

काभ्रे ।

नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ को प्रतिवेदन सार्वजनिक गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले धुलिखेलमा आयोजित एक कार्यक्रममा बागमती प्रदेशका सबै पालिकाका स्वास्थ्यसँग सम्वन्धित व्यक्तिहरूको सहभागितामा सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

‘जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले सन् २०३० अथार्त २०८७ साल भित्र नेपालले दिगो विकास लक्ष्यले निर्धारण गरेका शर्तहरु पुरा गर्न सहयोग पु¥याउने छ’– स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भने–‘सबै नागरिकलाई सहज रूपमा स्वास्थ्यको पहुँच पु¥याउन तीन तहकै सरकारको समन्वय आवश्यक छ ।’ सर्वेक्षण सार्वजनिक कार्यक्रमका लागि तिन तहकै सरकारको प्रतिनिधित्व गराएको बताउँदै मन्त्री बस्नेतले जिम्मेवारी पुरा गर्न सबै क्षेत्रलाई समन्वय र सहकार्यका लागि आव्हान गरे ।

बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले बागमती प्रदेश भित्र देशकै राजधानी समेत रहेकाले प्रदेश भित्र हुने हरेक गतिविधिले मुलुककै भविष्य र तथ्याङ्कको सन्देश दिने भएकाले सबै पालिका र सरोकारवाला निकायहरूले स्वास्थ्यका महत्त्वपूर्ण सूचकहरूलाई अक्षर पालना गर्न र नागरिकहरूलाई स्वास्थ्यको पहुँच पु¥याउन अनुरोध गरे ।संविधानले स्वास्थ्यलाई नागरिकको मौलिक हक अन्तर्गत राखेको भए पनि नागरिकहरूले सहज, सरल र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकेका छैनन् ।

आधारभूत स्वास्थ्य सेवाको क्षेत्राधिकार रहेको छ भने संघ र प्रदेश सरकारको फरक फरक अधिकार छ । सर्वेक्षणमा ४० भन्दा धेरै सूचकहरू समावेश गरिएको थियो । सर्वेक्षणका लागि १४ हजार २ सय ४३ घर समावेश गरिएकोमा १३ हजार ८ सय ३३ घरका नागरिकहरूले मात्रै भाग लिएका थिए ।

१५ वर्ष देखि ४९ वर्षसम्मका नागरिकहरूले भाग लिएको सर्वेक्षणमा महिला १५ हजार २ सय ३८ जना र पुरुष ५ हजार १ सय ८५ जना सहभागी भए । सूचकहरूमा प्रजनन क्षमता, परिवार नियोजन, शिशु र बाल मृत्यु दर, मातृ र नवजात शिशु स्वास्थ्य सेवा, बाल स्वास्थ्य सेवा, पोषण, घरायसी पानी, सरसफाइ र स्वच्छता, महिला सशक्तीकरण, घरेलु हिंसाको अवस्थाका बारेमा देशभर तथा प्रदेश अनुसारको तथ्याङ्क सर्वेक्षण गरिएको छ ।

जनसांख्यिक स्वास्थ्य सर्वेक्षण सार्वजनिक करण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, अतिरिक्त स्वास्थ्य सचिव डा. टंकप्रसाद बराकोटी, बागमती प्रदेशका स्वास्थ्य सचिव बद्रीबहादुर खड्का, धुलिखेल लगायत बागमती प्रदेशका १३ वटै जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो ।

डा. कृष्णप्रसाद पौडेलले नेपालको जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ को प्रस्तुतीकरण गर्दै नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०७९-२०८०–२०८७-२०८८ र स्वास्थ्य वित्त रणनीति २०८०–२०९० को प्रस्तुति गरेका थिए । त्यस्तै रमेश केसीले मातृ मृत्यु अध्ययन २०२१ का सन्दर्भमा प्रस्तुति गरेका थिए । डेंगी रोग, अवस्था, रोकथाम तथा नियन्त्रण सम्बन्धी डा. रुद्र मरासिनीले प्रस्तुति गरेका थिए । कार्यक्रममा मन्त्री बस्नेत, बागमती प्रदेश मन्त्री जोशी, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु लगायतले स्वास्थ्य क्षेत्रमा भएका समस्या, समाधानका उपाय र तीन तहकै राज्यले गर्नु पर्ने जिम्मेवारीका बारेमा धारणा राखेका थिए ।