नौबिसे नागढुंगा सुरुङमार्गको आपत्कालीन बाटोको ‘ब्रेक थ्रु’

0
Shares

धादिङ । शिलान्यास गरिएको चार वर्षपछि नागढुंगा–नौबिसे सुरुङमार्गको आपत्कालीन बाटोको सोमबार ब्रेक थ्रु गरिएको छ ।

नौबिसे–नागढुंगा सुरुङमार्गका आपत्कालीन सुरुङ बाटोको प्वाल पारिएको हो । २ किलोमिटर ५ सय ५७ मिटर लामो सुरुङ धादिङ र काठमाडांै दुवैतर्फबाट छिचोलिएको सडक विभागले जनाएको छ ।

सुरुङमार्गको ब्रेक थ्रु गर्ने बेलामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाईँ, सचिव केशवकुमार शर्मासहितको टोलीको उपस्थिति रहेको थियो । ब्रेक थ्रुको पूर्वसन्ध्यामा र ब्रेक थ्रु भएपछि उत्साहपूर्ण माहोल भएको थियो ।

मुख्य सुरुङ मार्ग पनि अबको चार महिनाभित्र छिचोलिने सडक विभागले जनाएको छ । २ किलोमिटर ६ सय ८८ मिटर लामो मुख्य सुरुङमार्ग अब ५ सय २५ मिटर खन्न बाँकी छ । अब समस्या नआएमा ०८१ सालको पुसमा सुरुङबाट गाडी चलाउन सकिने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जनाएको छ । केपी शर्मा ओलीद्वारा प्रधानमन्त्री हुँदा २०७६ कात्तिक ४ मा शिलान्यास गरिएको सुरुङमार्ग ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखे पनि कोरोना, लकडाउन र मुआब्जालगायतका अवरोधले सुरुङ मार्ग निर्माणमा ढिलाइ भएको छ ।

हालसम्म ६६ प्रतिशत सुरुङ मार्गको काम सम्पन्न भएको छ भने बाँकी काम अब ढेड वर्षभित्र सकिएर सुरुङ मार्ग सञ्चालनमा आउनेछ । मुख्य टनेलको काम पनि अब १८ प्रतिशत मात्र बाँकी रहेको सडक विभाग वैदेशिक महाशाखा प्रमुख विजय जैसीले जानकारी दिनुभयो ।

सुरुङमार्गमा ‘सुरुङ र सडक गरी कुल ५ दशमलव १३ किलोमिटर लामो तीन लेनको डिजाइन रहेको छ । सुरुङमार्गमा सुरुङको कुल लम्बाइ २ दशमलव ६ सय ८८ किमि र सडकको लम्बाइ २ दशमलव ४५ किमि हुनेछ ।

कुल २२ अर्ब रुपियाँमा सम्पन्न गर्ने गरी जापानी कम्पनी हाज्मा आन्द्रो जेभीले नागढुंगा–नौबिसे सुरुङमार्गको निर्माण ठेक्का लिएको थियो ।