सरकारी कर्मचारी हुँ भन्दै ठगी गर्ने यादव पक्राउ

0
Shares

काठमाडौँ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सरकारी कर्मचारी हुँ भन्दै पेशेवर रुपमा ठगी गर्ने तथा लिखतसम्बन्धी कसुरमा सम्लग्न व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका–३ स्थायी घर भएको सतेन्द्र अधिकारी भन्ने सत्यन्द्रप्रसाद यादव रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका यादवले आफूलाई वीर अस्पतालको डा तथा नेपाल सरकार गृह मन्त्रालयको कर्मचारी रहेको भनी जाहेरवालालाई वीर अस्पतालमा जागिरसमेत लगाइ दिन्छु र निजको आफन्तलाई वैदेशिक रोजगारको लागि क्यानडा इजरायल लगायतका देशमा सरकारी कोटामा पठाइ दिने भन्दै विभिन्न व्यक्तिका राहदानी, नागरिकता, सवारी चालक अनुमतिपत्र लागि विभिन्न प्रलोभन र प्रभावमा पारी ३० लाख ५५ हजार लिई ठगी गरी सम्पर्कविहिन भएको उजुरीका आधारमा उनलाई ललितपुरको ग्वार्कोबाट पक्राउ गरिएको हो ।

यसैगरी निजले विकास पाण्डे नाम गरेको व्यक्तिको मोटरसाइकलको बिलवुकमा आफ्नो फोटो टाँसी किर्ते गरेको खुल्न आएको काठमाडाँै उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ परेका सतेन्द्रप्रसाद अधिकारी भन्ने सत्यन्द्र यादवलाई ठगी सम्बन्धी कसुर र लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर जावलाखेलमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताए ।