धुलिखेल २ मा वडा सरकारद्वारा कृषकलाई राहात

काभ्रेमा १२७४ वटा पशु मरे

0
Shares

जिल्लामा १२७४ वटा पशुमध्ये ४ वटा भैँसी, ९ सय ३२ वटा गाई, १ सय ५५ वटा गोरु र १ सय ८७ वटा बाच्छा बाच्छी मरेका छन् । नमोबुद्ध नगरपालिकामा मात्रै ४ वटा भैँसी मरेका हुन् । बनेपामा सबै भन्दा धेरै ३३६ वटा गाई मरेका छन् । 

काभ्रे । 

दैनिक पशुहरू मर्न थाले पछि धुलिखेल नगरपालिका वडा नम्बर २ ले कृषकहरुलाई गाई र बाछा बाछीका लागि अलग अलग राहात दिने निर्णय गरेको छ । हजारौँ पशुको निधन हुँदासम्म तीन तहकै सरकार चुँ सम्म बोल्न सकेका छैनन् । कृषकहरु लाखौँको पशु मर्दा पुर्पुरोमा हात राखेर बस्न बाध्य छन् ।

‘काभ्रेपलाञ्चोक जिल्लामा २०८० वैशाखमा पहिलो पटक धुलिखेल वडा नम्बर २ बाटै लम्पी स्किन रोग देखा परेको तथ्याङ्कले देखायो । शुरुबाट अहिलेसम्म ६५ वटा गाई मरिसकेका छन्’–वडा अध्यक्ष अर्जुन न्यौपानेले भने–‘कृषकका लाखौँ रुपैयाँ  पर्ने गाई मर्दा घर दैलोको वडा सरकार टुलुटुलु हेरेर बस्न सकेन । गाई तथा भैँसी मरेकोलाई प्रति गोटा १० हजार र ४ महिना कटेको कोरली बाच्छी, पाडा तथा पाडी मरेको अवस्थमा ५ हजार रुपैया उपलब्ध गराउने निर्णय गरेका छौ ।’ वडा कार्यालयले २०८०/२०८१ को विपत कोष तथा वडा स्तरीय पशु सेवा कार्यक्रमबाट भुक्तानी हुने गरी उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

 

बिरामी गाईहरुको हकमा ५० प्रतिशत औषधीमा अनुदान उपलब्ध गराउँदै आएको अध्यक्ष न्यौपानेले बताए । वडामा कार्यपालिका सदस्य सिता पराजुली, सुजिता बराल, सुवलाल तामाङ, सुर्यप्रसाद ढुंगाना सदस्य रहेका छन् । वडा सचिव प्रतिमा कटवालले निर्णयका बारेमा जानकारी दिँदै पीडित कृषकहरुलाई आवश्यक कागजातसहित वडा कार्यालयमा निवेदन दिन आब्हान गरेको बताइन् । उक्त वडामा हालसम्म ६५ वटा पशु मरिसकेका छन् ।

१२७४ वटा पशु मरे 

काभ्रेपलाञ्चोक जिल्लामा लम्पिस्किनका कारण १ हजार २ सय ७४ वटा पशु मरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलका अनुसार जिल्लामा ३६ हजार १ सय ३ वटा पशुलाई खोप लगाइएको छ भने २८ हजार ६ सय ५६ वटा पशु सङ्क्रमित भएका छन् ।
काभ्रेपलाञ्चोक जिल्लाको १३ वटा पालिका मध्ये सबै भन्दा धेरै बनेपामा ३ सय ३६ वटा पशु मरेका छन् । महाभारतमा पशु मरेका छैनन् । जिल्लामा ४ वटा भैँसी, ९ सय ३२ वटा गाई, १ सय ५५ वटा गोरु र १ सय ८७ वटा बाच्छा बाच्छी मरेका छन् । नमोबुद्ध नगरपालिकामा मात्रै ४ वटा भैँसी मरेका हुन् । अन्य पालिकामा भैँसीमा सङ्क्रमण देखिए पनि मृत्यु भएको छैन ।

कुन पालिकामा कति मरे ?

बनेपा– ३६६

पनौती– १७८

पाँचखाल– १५४

धुलिखेल– १५०

चौरीदेउराली– ९५

मण्डनदेउपुर–८५

खानिखोला– ८०

नमोबुद्ध– ५५

तेमाल– ४७

रोशी– ४१

बेथान्चोक–३४

भुम्लु–२३

महाभारत–०

जम्मा १२७४