नेतृत्वमाथि मुद्दा चलाउन खोजेपछि चोलेन्द्र जबराविरुद्ध महाअभियोग दर्ता गरियो : प्रधानमन्त्री



काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजिएपछि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता गरेको बताएका छन् ।

१७ साउनदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै आइतबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजेकै कारण जबराविरुद्ध महाअभियोग दर्ता गर्नुपरेको बताएका हुन् ।

आफ्नो पार्टी र नेतृत्वविरुद्ध घेराबन्दी भइरहेको भन्दै उनले यस्ता षड्यन्त्र परास्त गर्न अन्य राजनीतिक दलले पनि सहयोग गरेको जानकारी दिए । जसअनुसार जबराविरुद्ध महाअभियोग दर्ता गरेको र यसमा अन्य राजनीतिक दलले सहयोग गरेको उनको भनाइ छ ।

 माओवादी केन्द्र र नेताहरुमाथि मुद्दा लगाउन खोज्नुको पछाडि विचार वर्ग पक्षधरता रहेको भन्दै उनले जारी केन्द्रीय समिति बैठकबाट भने पार्टी मुख्य नेतृत्वको वरिपरि एकतावद्ध हुने स्थिति बनेको बताए ।

 १ फागुन २०७८ मा माओवादी, कांग्रेस, एकीकृत समाजवादीसहित तत्कालीन पाँच दलीय गठबन्धनका ९८ जना सांसदको समर्थनसहित तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता गरिएको थियो । महाअभियोग लगाउँदा जबराविरुद्ध २१ बुँदे आरोप लगाइएको थियो । जबरा गत २७ मंसिर २०७९ मा अवकाश पाएका जबराले आफूविरुद्धको महाअभियोगको अवस्था स्पष्ट नहुँदा निवृत्तिभरणलगायतका सुविधाबाट बन्चित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्