लकस नेपाल वर्ष व्यक्तित्व सम्मान प्रदान

0
Shares

ललितपुर।

लकस नेपालले आफ्नो १३ औं स्थापना दिवसको अवसरमा गोदावरी नगरपालिका वडा ६ लामीडाँडाका गणेशबहादुर नगरकोटीलाई लकस नेपाल वर्ष व्यक्तित्व २०८० सम्मान प्रदान गरेको छ ।

लकस नेपालको सहजीकरणमा १४ हजार लिटरको पानी शुद्धिकरण ट्याङ्की निर्माण र निरन्तर व्यवस्थापनमा सक्रिय रहेका नगरकोटीलाई शनिबार एक समारोहकाबीच सम्मान गरिएको हो । ज्यालादारी मजदुरीका बाबजुढ नगरकोटीको क्रियाशीलताले ८५ घरपरिवारलाई घर-घर शुद्ध पानी पिउन पाएका छन्।

५३ वर्षीय लामीडाँडा काफलडाँडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नगरकोटीले आफ्नो नेतृत्वमा थप ६० हजार लिटरको पानी ट्याङ्की निर्माण गरी निरन्तर संचालन एवं व्यवस्थापन गरिरहेका छन् । बाग्मती प्रदेशका विनाविभागीय मन्त्री रामकृष्ण चित्रकारले नगरकोटीलाई सम्मानपत्र प्रदान गरे । मन्त्री चित्रकारले लकस नेपालको सामाजिक कार्यमा सदवै साथ रहने प्रतिवद्धता व्यक्त गरे ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले गोदावरी भक्तपुर जिल्लाकै हाराहारी क्षेत्रफल रहेको उल्लेख गर्दै एउटा स्थानीय तहको बजेटले भ्याएसम्म काम गर्दै आएको बताए । यसले गर्दा गैरसरकारी संस्थाको भूमिका महत्वपूर्ण रहेको पनि मेयर महर्जनको भनाई रहेको छ ।

सो अवसरमा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य, बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन, लोप्चन, ललितपुर महानगरपालिका ११ वडा अध्यक्ष अरोजकुमार खड्गी, ललितपुर महानगरपालिका २२ वडा अध्यक्ष सागर तुलाधर तथा संस्थाका सल्लाहकार डा. शिलेन्द्र शाक्य, शाक्य सुरेन (सुरेन्द्रमान शाक्य) तथा कानूनी सल्लाहकार किरण शाक्यको समेत उपस्थिति रहेको थियो । लकस नेपालका कार्यवाहक अध्यक्ष सुरजवीर बज्राचार्यको अध्यक्षतामा भएको हो ।