परराष्ट्र सम्बन्ध राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकता मजबुत हुनेगरी अगाडी बढेको छ: मन्त्री साउद



काठमाडौँ।

परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले सरकारले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई मजबुत पार्नेगरी अगाडी बढाएको बताएका छन्।

आइतबार कन्सुलर सेवा विभागमा अनलाईन कन्सुलर प्रमाणीकरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमानमा आधारित बनाउँदै राष्ट्रिय एकतालाई मजबुत गर्ने गरी अगाडी बढाइएको बताएका हुन्।

परराष्ट्र सम्बन्धलाई परस्पर लाभका आधारमा अगाडी बढाइएको पनि उनले बताए। उनले विगतमा परराष्ट्र सम्बन्धमा असन्तुलन आएको भन्दै वर्तमान सरकारले सम्बन्धलाई सन्तुलित बनाइरहेको पनि बताए।

मन्त्री साउदले पार्टीहरुको परराष्ट्र नीति छुट्टाछुट्टै नबनाई सबैको सहमतीको नीति हुनुपर्नेमा जोड दिए।

उनले भने, ‘अहिलेको अवस्थामा सरकारले जनताको सेवालाई आफ्नो नीतिको केन्द्रमा राखेको छ। सुशासनलाई सरकारले केन्द्रमा राखेको छ। परराष्ट्र नीतिको सम्बन्धमा पनि हामी स्पष्ट छौँ, विगतका सरकारले परराष्ट्र सम्बन्धलाई वैचारिक र मनोवैज्ञानिक आधार दिएर कतिपय देशसँगको सम्बन्ध जुन सुमधुर हुनुपर्ने थियो। त्यो सुमधुरतामा असन्तुलन आएको बिचमा महशुस भएको थियो। यो सरकार गठन भएपछि कतिपय विगतको सरकारले पनि यसमा मेहनत गरेको छ, परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमानमा आधारित बनाउने, राष्ट्रिय एकतालाई मजबुद गर्ने गरेर यो सम्बन्धलाई अगाडी बढाउने र अन्तर्राष्ट्रिय सम्बन्धलाई परस्पर लाभका आधारमा पनि सम्बन्धलाई विकास गर्ने गरेर सरकारले अगाडी बढीराखेको छ। राष्ट्रिय स्वाभिमानलाई आधार बनाएर, राष्ट्रिय एकतालाई आधार बनाएर र छिमेकीहरुसँगको जनस्तरको सम्बन्धलाई घनिभुत गरेर हामीले अगाडी बढ्नुपर्ने अवस्था छ। विदेश नीति पार्टी–पार्टीको छुट्टै हुने कुरा होइन कि यसमा सबै पार्टीहरुका बिचमा सहमती हुन सकोस्। हामी एकै ठाउँमा पुग्न सकौँ भनेर कोसिस छ। यदी अरु पार्टीहरुको पनि त्यो अपेक्षा छ भने सरकार त्यसमा दृढतापूर्वक, उदारतापूर्वक सबैका बिचारलाई राष्ट्रिय सहमतीका लागि ग्रहण गर्न तयार रहेको कुरा स्पष्ट गर्न चाहान्छु।’

प्रतिक्रिया दिनुहोस्