अज्ञात समूहद्वारा विद्यालयमा तोडफोड, करिब ३० हजारको क्षति

0
Shares

टीकापुर । कैलालीको टीकापुर–३ शंकरपुरस्थित केदारेश्वर आधारभूत विद्यालयमा तोडफोड भएको छ । शनिबार राति अज्ञात समूहले तीन वटा कक्षा कोठाको ढोका फोडेर डेस्क–बेन्च तोडफोड गरेको हो ।

विद्यालयका प्रधानाध्यापक बद्री भट्टराईका अनुसार तीन कोठाका १० थान डेस्क–बेच्न र झ्याल–ढोकामा तोडफोड गरिएको छ । तोडफोडबाट करिब ३० हजार बराबरको क्षति पुगेको उनले बताए ।

विद्यालय शिक्षा प्रदान गर्ने थलो हो । सामुदायिक विद्यालय त झनै सबैको साझा सम्पत्ति हो । यसरी विद्यालयको सम्पत्ति तोडफोड गर्दा कसैलाई फाइँदा पुग्दैन । यो एकदमै निन्दनीय घटना हो । दोषीमाथि कडा कारबाहीको माग गर्दछौं, भट्टराईले भने । पटकपटक विद्यालयमा यस्ता खाले घटना दोहोरिने गरेको उनले बताए ।

आफू प्रअ भएर आइसकेपछि यो चौथोपटक विद्यालयमा तोडफोड भएको उनको भनाइ छ । एक जना विद्यार्थीको झोला पनि छुटेको रहेछ । त्यो झोला र झोलामा रहेका सबै पुस्तक तथा कपिहरू पनि च्यातच्युत पारिएको छु, उनले भने ।

यसअघि अफिस रुममै तोडफोड भएको उनले बताए। यसअघि अफिसकै सामान चोरी भएको थियो । ३५ सय रुपियाँ, भान्सामा भएका खाजाका सामान, बाल कल्याण संघले दिएको एक सय चक्की साबुन चोरी भएको थियो, उनले भने। दोषीलाई पक्राउ गरेर कडाभन्दा कडा कारबाही गर्न उनले माग गरेका छन् ।