आफ्नो तलबले घाँसको बिरुवा खरिद गरेर किसानलाई वितरण गर्दै उपमेयर



खोटाङ । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयरले नगरभित्रका टोल–टोलका किसानहरुलाई घाँसको बिरुवा बितरण गरिरहनुभएको छ । नगरपालिकाका उपमेयर बिसन राईले आफ्नो तलबबाट सुपर नेपियर घाँसको विरुवा खरिद गरी वितरण गरिरहनुभएको हो ।

पशुपालन व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्दै व्यवसायिक बनाउँन सबै वडाका किसानलाई उन्नत जातका नेपियर र अम्लिसोको बिरुवा खरिद गरेर निःशुल्क वितरण गरेको उपमेयर राईले बताउनुभयो ।

उपमेयर राईले हालसम्म ६ सय किसान परिवारलाई बिरुवा बितरण गरिसक्नुभएको छ । उपमेयरले नगरपालिकाकै वडा नम्बर ८ दोर्पाचिउरीडाँडा र वडा नम्बर ९ निर्मलीडाँडाबाट खरिद गरेर ल्याइएको सुपर नेपियर, स्मार्ट नेपियर, रेड नेपियर र बङ्गाली रेड नेपियर जातको घाँसको बिरुवा गर्नुभएको हो । यस्तै, वडा नम्बर ३ बाम्राङबाट खरिद गरिएको अम्लिसो जातको घाँसका बिरुवा वितरण गरिएको उपमेयर राइृको भनाई छ ।

पशुपालनलाई व्यवसायिक बनाउँन नगरपालिकाबाट यस आर्थिक बर्षका लागि एक करोड बजेट समेत विनियोजना गरिएको नगर उपमेयर राईले जनाउनुभयो । पशुपालन तथा व्यवसायिक कृषिका लागि नगरपालिकाले यस आर्थिक बर्ष ब्याज अनुदान स्वरुप किसानलाई चार करोड रकम उपलब्ध गराउने गरी पहल थालेको समेत जनाईएको छ ।

जिल्लास्थित विभिन्न बैंकसंगको सहकार्यमा नगरपालिकाले ब्याज तिरिदिने सर्तसहित नगरपालिका नै जमानी बसेर रकम उपलब्ध गराउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्