पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु, दुई बेपत्ता

0
Shares

दोलखा।

दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर ७ मार्बु टोपाटारमा बिहीबार राति गएको पहिरामा परी एक बालकसहित दुई जनाको ज्यान गएको छ भने अर्का दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

अविरल बर्षाको कारण बिहीबार बेलुका आएको पहिरोमा परी टोपाटारका कृष्ण बहादुर मगर, उनको श्रीमती देवीमाया मगर, हरिलाल श्रेष्ठ र तीन वर्षको बालक प्रिन्स थामी बेपत्ता भएकोमा शुक्रवार देवीमाया मगर र सिता थामीको छोरा तीन वर्षको प्रिन्स थामीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक दीपक खड्काले बताए।

पहिरोले स्थानीय कृष्णबहादुर मगरको घर पुरै बगाएको तथा हरिलाल श्रेष्ठ, यज्ञ थामी, टपेन्द्र गुरुङ र घनश्याम खत्रीको घरमा समेत पूर्ण रुपमा क्षति पुगेको वडा नम्बर ७ का वडा अध्यक्ष सोनाम शेर्पाले जानकारी दिए । पहिरोमा परी यज्ञ थामी, उनको श्रीमती धनकुमारी थामी तथा बुहारी सिता थामी घाइते भएको वडा अध्यक्ष शेर्पाले बताए ।

घाइते तीनै जनालाई उपचारको लागि काठमाडौँको केएमसी अस्पताल लगिएको प्रहरीले जनाएको छ । घाइते यज्ञ थामी र उनको श्रीमती धनकुमारी थामीलाई हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो भने बुहारी सिता थामीलाई स्थानीय अस्पतालमा प्राथामिक उपचार पछि एम्बुलेन्सबाट थप उपचारको लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।

केएमसीमा उपचाररत बिरामीको अवस्थाबारे जानकारी लिन सङ्घीय सांसद गंगा कार्की, प्रदेश सांसद कुन्दनराज काफ्ले, भरत केसी लगायत विभिन्न दलका नेताहरु पुगेका थिए । बिरामीको अवस्था नाजुकै रहेको सङ्घीय सांसद गंगा कार्कीले बताए ।

बिहीबार वडा नम्बर ८ सल्लेको ठाडोखोलामा बाढी आएर पहिरो गएको थियो । पहिरोले वडा नम्बर ८ सल्लेको ३०/३२ घर उच्च जोखिममा रहेको स्थानीय समाजसेवी कुमार तमाङले बताए । सल्लेबाट सुरु भएको पहिरोलेनै टोपाटारको घर बगाएको तमाङको भनाई छ ।

अहिले जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोज तथा उद्धारको काम गरिरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।