पहिरोले घर बगाउँदा ३ वर्षीय बालकको मृत्यु, ३ जना बेपत्ता



दोलखा । जिल्लाको गौरीशङ्कर गाँउपालिका–७ मार्बु टोपाटारमा पहिराले घर बगाउँदा एक बालकको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

हिजो (बिहीबार) राति परेको अविरल वर्षापछि आएको पहिरोमा परी टोपाटारका कृष्णबहादुर मगरको घर बगाउँदा कृष्णबहादुरसँगै उनको श्रीमती देव मगर र हरिलाल श्रेष्ठ बेपत्ता छन् भने तीन वर्षीय प्रिन्स थामी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिनुभयो ।

पहिरोले स्थानीय यज्ञ थामी, टपेन्द्र गुरुङ र घनश्याम खत्रीको घरसमेत पूर्णरुपमा क्षति पुगेको वडा नम्बर ७ का वडाध्यक्ष सोनाम शेर्पाले बतानुभयो ।

पहिरोमा परी यज्ञ थामी, उनको श्रीमती धनकुमारी थामी तथा बुहारी घाईते भएको वडाध्यक्ष शेर्पाले बताउनुभयो । घाईतेलाई उद्धार गरी हेलिकप्टरबाट उपचारको लागि काठमाडौं लाने तयारी भईरहेको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

पहिरोले १५ भन्दा बढी घरहरु जोखिममा रहेको र पुलसमेत बगाएकोले उद्धारमा कठिनाई भएको स्थानीयको भनाइ छ । अहिले जनपथ प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलिले खोज तथा उद्धारको काम गरिरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्