कर्मचारी संगठनले गर्‍यो अवकाश प्राप्त कर्मचारीलाई सम्मान

0
Shares

काभ्रे। 

नेपाल निजामती कर्मचारी संगठन काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०७९/२०८० मा अवकाश प्राप्त जिल्लाका १५ जना कर्मचारीहरुलाई सम्मान सहित बिदाइ गरेको छ ।

संगठनले मनाईरहेको मनोज जोशी, झपेन्द्र कार्की र सुरेन्द्र विश्वकर्मा स्मृति दिवसको अवसरमा देशभर असार २९ देखि निरन्तर विभिन्न कार्यक्रम गरिरहेको छ । सोही  क्रममा जिल्लामा कार्यरत राष्ट्रसेवक कर्मचारी अवकाश हुँदा सम्मान तथा बिदाइ गरिएको जिल्ला अध्यक्ष गायत्रीरमण घिमिरेले जानकारी दिए । ‘यो वर्ष सहायक प्रमुख जिल्ला अधिकारी देखि कार्यालय सहयोगीसम्मको अवकाश भएको छ’–अध्यक्ष घिमिरेले भने –‘संगठनले गर्ने विभिन्न रचनात्मक क्रियाकलाप अन्तर्गत अवकाश प्राप्त राष्ट्रसेवकहरुको सम्मान गरिएको हो ।’

अवकाश प्राप्त कर्मचारीहरु मध्ये सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख राजकुमार हुमागाई, जिल्ला प्रशासन कार्यालयका अधिकृत रामप्रसाद भट्टराई, विभिन्न तहका कर्मचारीहरु नापी कार्यालयका रुद्रप्रसाद हुमागाई, कृषि ज्ञान केन्द्रका गुणराज ओझा, पाँचखाल नगरपालिकाका चन्द्रमाई दनुवार र इश्वरप्रसाद अधिकारी, पनौती नपाका झलकप्रसाद सापकोटा, दिपक कार्की, धुलिखेल नगरपालिकाका हरिशरण बस्नेत, उद्धवप्रसाद हुमागाई र मन्दिलकृष्ण श्रेष्ठ, पूर्वाधार कार्यालयका हरिगोविन्द मर्हजन, नमोबुद्दका राप्रसाद दाहाल र मण्डनदेउपुरका गोपालप्रसाद सापकोटालाई सम्मान गरिएको थियो । कर्मचारीहरु डिल्लीप्रसाद पोखरेल, उद्दिम देवकोटा र निर्मला कार्की अवकाश भए पनि प्राविधिकरण कारणवश सहभागि हुन नसकेको बताइएको थियो ।

कार्यक्रममा बोल्दै संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले ट्रेड युनियनहरुले वाहालवाला कर्मचारीहरुका लागि मात्रै नभई अवकाश प्राप्त कर्मचारीहरुका लागि पनि सम्बोधन गर्नु पर्ने बताए । ‘हाम्रो संगठनले संघीय निजामती ऐनमा नै समेट्ने गरी अवकाश प्राप्त राष्ट्रसेवक कर्मचारीहरुका लागि आजिवन निशुल्क औषधी उपचारको व्यवस्था, विज्ञता अनुसारको जिम्मेवारी उपलब्ध गराउनु पर्ने माग गरिरहेको छ’–अध्यक्ष कोइरालाले भने–‘निजामती कर्मचारीहरु देशका उत्कृष्ट राष्ट्रसेवक हुन् । अनुशासित छन् । गुणस्तरीय सेवा दिएका छन् ।’ छिटफुट हुने घटनालाई लिएर सिङ्गो निजामती क्षेत्रका कर्मचारीहरु खराब छन् भन्नै हौवा गलत भएको बताउँदै कोइरालाले वहालवाला कर्मचारीहरुको सेवा सुविधामा मात्रै नभई अवकाश प्राप्त कर्मचारीहरुका बारेमा पनि राज्य जिम्मेवार हुनु पर्ने बताए ।  अवकाश हुँदा कर्मचारीहरुले पेन्सनपट्टा मात्रै लिएर निस्कने तर जीवनको ऊर्जाशील समय राष्ट्र र नागरिकहरुका लागि खर्चिएको अवस्थामा कर्मचारीहरुको मनोबल उकास्न र अवकाश पछिको जीवनलाई सहज बनाउन ऐनमै व्यवस्था गर्नु पर्ने उनले बताए ।

 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले कर्मचारीहरुले गरेका राम्रा कामको भन्दा नराम्रा कामको ज्यादा प्रचार हुने गरेको बताए । ‘सेवा लिनेलाई दिनेसँग विश्वास छैन, विश्वास दिलाएर काम गर्दा पनि सेवाग्राही तेस्रो व्यक्ति खोजिरहेको हुन्छ’– प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भने–‘जीवनभर राष्ट्र र नागरिकलाई दिएको समय र श्रमको राज्यले उचित कदर गर्नेछ । राष्ट्रको सेवा गर्ने अवसर पाउनु महत्वपूर्ण हो । त्यो अवधीमा आफु सधै पदमा रहन्न वा सेवामा हुन्न भन्ने कुरा हरेक व्यक्तिले बुझ्नु पर्छ ।’ कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष प्रभातप्रसाद शाहले संगठनले गरिरहेका कार्यहरुका कारण सरकार हक अधिकार उपलब्ध गराउन बाध्य भएको बताए ।

अवकाश प्राप्त सहायक प्रमुख जिल्ला अधिकारी उप सचिव महेशकुमार पोखरेलले कर्मचारी संगठनहरु सरकारको नेतृत्व गरेका दलका आधारमा अधिकारका कुरा गर्न लागेकाले कमजोर भएको बताए । पछिल्लो समय दलका झोला बोक्ने संगठनहरु जस्तो देखिएकाले कर्मचारी ऐन, अधिकार तथा अन्य विषयमा मजबुत रुपमा आवाज उठाउन नसकेको पोखरेलले बताए । कार्यक्रममा संगठनका केन्द्रीय लेखा समिति संयोजक सिताराम घिमिरे, उप महासचिव विजयालक्ष्मी सुवेदी, सचिवालय सदस्य भवानी हुमागाई, प्रदेश र जिल्लाका पदाधिकारीहरू लगायतको सहभागिता रहेको सचिव विनोद रसाइलीले जानकारी दिए ।