चितवन कारागारमा भइरल ज्वरोकाे प्रकाेप, एक सय ५० जनामा छालाको समस्या



चितवन । 

कारागार कार्यालय चितवनमा मौसममा आएको परिवर्तनसँगै ज्वरो (भाइरल फिवर) र छालाको समस्या देखिएको छ । केही दिनदेखि कारागारमा रहेका कैदीबन्दीमा भाइरल फिवर र छालाको समस्या देखिएको हो ।

कार्यालयका निमित्त प्रमुख लेखनाथ पौडेलका अनुसार गर्मीसँगै ‘भाइरल फिवर ’देखिएको हो । उहाँका अनुसार अहिले कारागारमा रहेका कैदीबन्दीमा १० जनामा भाइरल फिवरको समस्या देखिएको छ ।

क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण यो सङ्क्रमण बढ्ने उनकाे भनाइ छ । भाइरल फिवरसँगै गर्मी समयमा छालामा लाग्ने दाज र ढुसीका कारण हुने समस्या देखिएको उनले  बताए । उनले भने, “छालाको समस्याका बिरामीको सङ्ख्या एक सय ५० जनाभन्दा बढिरहेका छन् ।” कारागारमा सङ्क्रमण फैलन नदिनका लागि आफूहरुले उच्च सतर्कता अपनाएको उनले जानकारी दिए ।

रोगको सङ्क्रमण फैलन नदिनका लागि रोगको रोकथामका लागि स्वास्थ्य शिक्षा र व्यक्तिगत सरसफाइमा ध्यान दिन लगाइएको उनले बताए  ।  पच्चीस जनाको क्षमता रहेको महिला बन्दीगृहमा अहिले ५० र दुई सय ५५ जनाको क्षमता रहेको पुरुषबन्दी गृहमा सात सय २९ जना रहेका छन् । उनीहरुसँग आश्रित तीन जना बालबालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्