शिव शिखर सहकारी संस्थाद्वारा ३१ करोड बढी रकम हिनामिना 

0
Shares

डडेल्धुरा। 

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले डडेल्धुरामा मात्रै बचतकर्ताको ३१ करोड बढी रकम हिनामिना गरेको भेटिएको छ ।
भक्तपुरमा केन्द्रीय कार्यालय रहेको र देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको शिवशिखर सहकारीको डडेल्धुरा शाखाले मात्रै ३१ करोड १६ लाख ७१ हजार तीन सय १३ रकम हिनामिना गरेको भन्दै बचतकर्ताहरुले जिल्ला प्रहरी कार्यालय डडेल्धुरा समक्ष उजुरी पेश गरेका छन् ।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका एक हजार पाँच सय ४३ जना बचतकर्ताले सो रकम सहकारीले फिर्ता नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा उजुरी दर्ता गरेका हुन । ‘हामीले सार्वजनिक सूचना जारी गरेर बचतकर्ताहरुलाई उजुरी दिन आह्वान गरेपछि एक हजार पाँच सय ४३ जनाको ठाडो उजुरी दर्ता गरिएको छ,’ जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले भने, ‘सबै निवेदकको दाबी रकम जोड्दा ३१ करोड १६ लाख ७१ हजार तीन सय १३ रुपैयाँ पुग्छ ।’

प्रहरी नायक उपरीक्षक भट्टले सबै बचतकर्ताले प्रमाणसहित निवेदन दिएको बताउँदै निवेदन दर्ताको काम सकिएसँगै जाहेरी दर्ताको प्रक्रिया अगाडि बढेको जानकारी दिए । ‘५०/५० जनाका दरले जिल्ला प्रहरी कार्यालयमा बोलाएर हामी जाहेरी दर्ता गरिरहेका छौँ । त्यसपछि थप अनुसन्धान अगाडि बढ्छ,’ डिएसपी भट्टले भने ।

सो सहकारीले डडेल्धुरामा मात्रै ४२ करोड रुपैयाँभन्दा बढी रकम निक्षेप संकलन गरेको अनुमान छ । सहकारीले रकम फिर्ता गर्न नसकेपछि कार्यालयसमेत बन्द गरेको छ । सहकारीमा लगानी वा बचत गरेमा पाँच वर्षमा दोब्बर रकम हुने भन्दै स्थानीयबाट निक्षेप संकलन गरिएको थियो । संकलित बचत रकमको दुरुपयोग गर्दै सो सहकारी संस्थाले शिवशिखर प्रा.लि.का नामबाट डडेल्धुरा सदरमुकाममा गार्डेन मार्ट सञ्चालन गरेको थियो । हाल मार्ट बन्द अवस्थामा छ ।

 बचत गरेमा पाँच वर्षमा दोब्बर रकम भुक्तानी दिने सर्तमा यहाँका सर्वसधारणहरूले सो सहकारी संस्थामा नियमित बचत गरिरहेका थिए । कतिपयले ऋण निकालेर समेत रकम बचत गरेको बताएका छन् । सो सहकारीले शिवशिखर अर्गनाइजेसन, शिवशिखर प्रा.लि., शिवशिखर एग्रोलगायत विभिन्न फर्मका नामबाट व्यापार व्यवसाय तथा निक्षेप संकलन गर्दै आएको थियो । डडेल्धुराबाट संकलित निक्षेप शिवशिखर अर्गनाइजेसन र शिवशिखर प्रालिलाई कर्जा दिएको सहकारीमा कार्यरत कर्मचारीहरु बताउँछन् ।

तर सहकारीले निपेक्षकर्ताहरुलाई कर्जा प्रवाह गरेको तथ्य प्रमाण भने फेला परेको छैन । कर्जा प्रवाह आफ्नै अर्गनाइजेसन र प्रालिलाई गरेको भन्दै स्थानीय एवं सहकारीका ग्राहक आव्रmोशित छन् । यहाँका बचतकर्ताहरुले सो सहकारीले सहकारी नियमावली विपरित काम गरिरहेको बताउँदै बचत रकम फिर्ता गराउन माग गरेका छन् ।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताहरुको रकम गत असार मसान्तभित्रै भुक्तानी गर्ने भन्दै स्थानीय अगुवाहरूलाई कागजात गरेको भए पनि हालसम्म रकम फिर्ता नभएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउन स्थानीय बाध्य भएका छन्  । सो सहकारी संस्थाले बचतकर्ताहरुको रकम हिनामिना गरेको सन्दर्भमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले समेत अनुसन्धान गरिरहेको छ ।