धनगढीमा जुवाखालबाट समातिए नेता-कर्मचारी र वडाध्यक्ष



धनगढी । हिजो कैलालीको धनगढी बसपार्कबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेकाहरुबारे नयाँ कुरा खुलेको छ ।

वडाप्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बम नेतृत्वको टोलीले बसपार्कको कलेल होटलमा छापा हानेर सञ्चालक तेजबहादुरसहितका १० जनालाई समातेको थियो ।

होटलमा छापा हानेर नियन्त्रणमा लिइएकाहरु निर्वाचित जनप्रतिनिधि, कर्मचारी र विभिन्न राजनीतिक दलका प्रदेशस्तरका नेतासमेत रहेको खुलेको छ । सुुरुमा प्रहरीलाईसमेत गलत परिचय र ठेगाना बताएका उनीहरुको पहिचान खुलेको हो ।

प्रहरीकाअनुुुसार पक्राउ परेकामध्ये योगेन्द्र ठकुल्ला डोटीको पूर्वीचौकी गाउँपालिका–२ का वडाध्यक्ष हुन् भने खड्क साउँद पूर्वीचौकी गाउँपालिका–५ काडामाडौंका वडाध्यक्ष रहेको खुलेको छ ।

यस्तै प्रहरीले देवबहादुर खड्का भनेर सार्वजनिक गरेका व्यक्ति एकीकृत समाजवादी पार्टीका प्रदेश कमिटि सदस्य देवलाल खड्का रहेको पाइएको छ भने धनबहादुर विष्ट माओवादी केन्द्र प्रदेश कमिटि सदस्य हुन् ।

गोदावरी नगरपालिका–३ बस्ने भनिएका कुवेर खड्का पूर्वीचौकी गाउँपालिका–७ का स्थानीय हुन् । उनी नेपाली कांग्रेसको पूर्व जिल्ला सदस्य हुुन् । सुजित खड्का सिलगढी खानेपाननी तथा सरसफाइका कर्मचारी रहेको खुलेको छ ।

पुरनबहादुर खड्का पनि शिक्षक भएको बताइएको छ । उनीहरुसँगै डोटीकै अन्य तीन जना कार्यकर्ता पनि कलेल होटलमा जुवातास खेलिरहेका थिए । प्रहरीले उनीहरुको साथबाट एक लाख चार हजार नगद र तासको गड्डी बरामद गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयले पक्राउ परेकाविरुद्ध बुधबार मुद्दा दर्ता गर्ने तयारी गरेको छ । वडाप्रहरीले छापा हानेर जुवाडे पक्राउ गरेको होटल कलेलले विगतदेखि नै जुवातास खेलाउने गरेको स्थानीय बताउँछन् । बसपार्क प्रहरीको संरक्षणमा जुवातास खेलाउने कलेलसहितका केही होटलबाट प्रहरीले हप्ता समेत असुल्ने गरेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्