हाइटेन्सन लाइनमुनि बनेका सबै संरचना हटाउने महानगरको तयारी

राप्रपा भवन भत्काउन पुगेका महानगर टोली फर्किए



-तीन साताभित्र आफ्नै भवन भत्काउँदै
-हाइटेन्सन लाइन नजिकका सबै संरचना भत्काइने कामपाको उद्घोष
-कानुन मिचेर भवन भत्काउन नपाइने राप्रपाको भनाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाले हाइटेन्सन लाइनमुनि निर्माण भएका सबै संरचना हटाउने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बराहीस्थित केन्द्रीय भत्काउने तयारी गरिरहँदा कामपाका शहरी व्यवस्थापन प्रमुख सुरज शाक्यले हाइटेन्सन लाइनसँगैको टेकुस्थित आफ्नै भवन भत्काउने तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँले कामपाको मिशिल तथा तथ्याङ्क, चःमति, मनोहरा र नयाँबजार जग्गा एकीकरण आयोजनाको कार्यालय रहेको तीनतले भवन भत्काउन अन्तिम तयारी भइरहेको बताउनुभयो ।

कामपाका सहायक प्रवक्ता दीपक अधिकारीले मिशिल शाखाको सामग्री कामपा मुख्यालय काठमाडौं प्लाजामा स्थानान्तरण गर्ने काम भइरहेकोले भवन खाली हुनासाथ भत्काउन शुरू गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘अन्य कार्यालयको सामान हटाइसक्यौं । मिशिल र तथ्याङ्क शाखाको सामग्री निकाल्नासाथ भवन भत्काउन थाल्नेछौं । उहाँको भनाइ थियो–‘बढीमा तीन साताभित्र भत्काउन थाल्नेछांै । आफ्नै भवन भत्काएपछि अन्यलाई पनि कारबाही तीव्र पार्नेछौं ।’

काठमाडौं महानगरले हाइटेन्सन लाइनमुनि बनेको आफ्नै भवन भत्काउँदै

कामपाका शहरी व्यवस्थापन प्रमुख शाक्यले कानुनविपरीत हाइटेन्सन लाइनमुनि वा नजिक रहेका सबै भवन भत्काउने तयारी गरिरहेको जानकारी दिँदै भन्नुभयो– ‘यसका लागि महानगर काठमाडौंमा हाइटेन्सन नजिकका घर वा अन्य संरचनाका बारेमा तथ्याङ्क संकलन गर्ने क्रममा छ ।’

कामपाले राप्रपाको घरलाई मात्र निशाना बनाएको विषयमा आलोचना भइरहेको अवस्थामा शहरी व्यवस्थापन विभाग प्रमुख शाक्यले राप्रपाको कार्यालय रहेको घर मात्र नभई त्यस क्षेत्रमा हाइटेन्सन लाइननजिक रहेका सबै संचरना भत्काउने तयारी भइरहेको जानकारी दिनुभयो ।

कामपाले स्थानीय सरकार सञ्चालन ऐन–२०७४ र विद्युत् नियमावली २०५० को नियम ५० को अनुसूची १३ को नियमलाई टेकेर भवन भत्काउन शुरू गरेको जनाएको छ ।

राप्रपा भवन भत्काउन पुगेका महानगर टोली फर्किए

तीन दिनदेखि सूचना जारी गर्दा पनि राप्रपाले अटेर गरेको भन्दै सोमबार राप्रपाको भवन भत्काउन धुम्बाराही पुगेको महानगरको टोली छलफलपछि भवन नभत्काइ फर्कियो । डोजरसहित महानगरको टोली पुग्दा राप्रपाका नेता तथा कार्यकर्ताहरूले सडकमै सवारी साधन तेस्र्याएर अवरोध गरेका थिए । भवन भत्काउन प्रमुख जिल्ला अधिकारीको आदेश नदिएपछि र प्रहरी परिचालन नभएपछि कामपाको टोलीले भवन भत्काउने आँट नगरेको हो ।

राप्रपाले कानुन मिचेर भवन भत्काउन नपाइने भन्दै महानगरविरुद्ध नाराबाजी गरेको थियो । कार्यकर्ताले बिहानैदेखि मुख्यालयको सुरक्षा गरेर बसेका थिए । डोजरसहित दिउँसो धुम्बाराही पुगेको नगरप्रहरी बलको टोली हाँडीगाउँमा तयारी अवस्थामा तैनाथ गरिएको थियो । जिल्ला प्रशासन कार्यालयको आदेश नपाईकन प्रहरी अघि बढ्न सकेन भने कामपा प्रहरीले भवन भत्काउने आँट गरेन ।

राप्रपाका मुख्य सचिव केदारबहादुर अधिकारीले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३९ अनुसार समिति बनाएर समितिको निर्णयअनुसार मात्र भत्काउन सक्ने व्यवस्थाको धज्जी उडाउँदै हचुवाको भरमा भवन भत्काउन खोजेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्