क्विन्टल सुन प्रकरणमा एमालेको अल्झो : संसद् अवरोध गर्ने र महत्वपूर्ण विधेयक टेबुल हुन नदिने



काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आह्वान गरिएको छ ।

बैठक आज (सोमबार) दिउँसो १ः०० बजेका लागि आह्वान गरिएको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उक्त सभाको बैठक आह्वान गरिएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कायाृलयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरू पढेर सुनाउने कार्यसूची रहेको छ ।

सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी आजकै बैठकमा गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीको कार्यावधि थप गर्ने प्रस्ताव सदनमा पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राइले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

तर, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आजका लागि आह्वान गरिएको बैठक अवरोध गर्ने भएको छ ।

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय आयोग गठनको माग गरे पनि सरकारले त्यसमा चासो नदिएको भन्दै आजका लागि आह्वान गरिएको उक्त बैठक अवरोध गर्ने भएको हो ।

गत बुधबार बसेको बैठकमा पनि एमाले सांसदहरूले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै संसद् अवरोध गरेका थिए ।

यदि आजको संसद् बैठक अवरोध भएमा महत्वपूर्ण विधेयक संसदमै विचाराधिन रहनेछन् ।

यसैबीच आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो ।
यद्यपि भेटवार्तामा कुन विषयमा छलफल भएको हो, सोबारे सार्वजनिक नभए पनि संसद्को गतिरोध अन्त्यका लागि छलफल भएको हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्