ब्रोडको संन्यास



लन्डन, (एजेन्सी) । इंग्ल्यान्डका फास्ट बलर स्टुआर्ट ब्रोडले क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । अस्टे«लियाविरुद्धको एशेज शृंखलाअन्तर्गत पाँचौ टेस्टमा ब्रोडले संन्यासको घोषणा गरेका हुन् । उनले यसै शृंखलामा ६ सय टेस्ट विकेट पनि लिएका हुन् ।

ब्रोड सर्वाधिक विकेट लिने टेस्ट क्रिकेटको सूचीमा पाँचौं स्थानमा छन् । उनी इंग्ल्यान्डको तर्फबाट सर्वाधिक टेस्ट विकेट लिने सूचीमा भने दोस्रो स्थानमा रहेका छन् । पहिलो नम्बरमा फास्ट बलर जेम्स एन्डरसन रहेका छन् । एन्डरसनले ६ सय ९० विकेट लिएका छन् ।

ब्रोडले सन् २००७ मा श्रीलंकाविरुद्ध कोलोम्बो टेस्टमा डेब्यू गरेका थिए । उनले १ सय ६६ खेलमा ६ सय विकेट लिनुको साथै ३ हजार ६ सय ४७ रन बनाएका छन् । ब्रोडले सन् २०१० मा पाकिस्तानविरुद्ध लर्डस टेस्टमा नवौं नम्बरमा ब्याटिङ गर्दै पहिलो इनिङमा १ सय ६९ रनको सानदार शतकीय इनिङ खेलेका थिए । उनको यो कुनैपनि खेलको उत्कृष्ट ब्याटिङ समेत हो ।

२०१० मा इंग्ल्यान्डले टि२० विश्वकप जित्दा ब्रोड टोलीका सदस्य थिए । टि२० आईमा उनले ५६ खेलमा ६५ विकेट लिएका छन् । २०१४ पछि उनी टि२० टोलीमा अटेनन् । ब्रोडले १ सय २१ ओडिआई खेलमा १ सय ७८ विकेट लिएका छन् । २०१६ पछि उनी ओडिआई टोलीमा छैनन् । ३७ वर्षीय ब्रोड २०१६ पछि टेस्ट क्रिकेटमा लगातार खेल्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्