नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजाबाट समग्र नेपालीहरुको स्वास्थ्यमा सुधार भएको देखिए तापनि बालबालिकामा खोप लगाउने दर भने घट्न लागेको नकारात्मक प्रवृत्ति देखिएको छ ।
सन् २०२२ को नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, नेपालमा सन् १९९६ पछि गरिएको छैटौं जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण हो । यस सर्वेक्षणको नतिजा अनुसार नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बालस्वास्थ्यमा उल्लेख्य प्रगति भएको छ । तर बालबालिकाको नियमित खोप कभरेज भने अघिल्लो सर्वेक्षणहरुमा भन्दा आश्चर्यजनक ढंगले घटेको पाइएकोले बालबालिकाको स्वास्थ्यमा भइरहेको उल्लेख्य सुधारले भविष्यमा उल्टो गति समाउने हो कि भन्ने आशंका पनि पैदा गरेको छ ।
सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिए अनुसार नेपाली महिलाहरुले बढ्दो संख्यामा मातृ स्वास्थ्य सेवा लिने गरेका छन् । ९४ प्रतिशत गर्भवती महिलाहरूले डाक्टर, नर्स वा अ.न.मी.जस्ता दक्ष स्वास्थ्यकर्मीहरुबाट गर्भवती सेवा (बच्चा पाउनुअघिका जाँचहरु) प्राप्त गरेका छन् । सन् १९९६ को नेपाल परिवार स्वास्थ्य सर्वेक्षण अनुसार २५ प्रतिशत महिलाले मात्र दक्ष स्वास्थ्यकर्मीहरुबाट गर्भवती सेवा प्राप्त गरेका थिए, जुन हालको प्रतिवेदन अनुसार उल्लेखनीय वृद्धि हो । सन् २०२२ को नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार ७३ प्रतिशत गर्भवती महिलाले गर्भावस्थाको पहिलो तीन महिनाभित्रमा पहिलो गर्भवती जाँच गराएको उल्लेख गरिएको छ । यो आमा र बच्चा दुवैको लागि जोखिमहरू कम गर्न महत्वपूर्ण समय हो ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार ८१ प्रतिशत गर्भवती महिलाले कम्तीमा चारपटक गर्भवती सेवा (सिफारिस गरे अनुसार) प्राप्त गरेका छन् । सन् १९९६ को सर्भेमा ८ प्रतिशत जीवित जन्महरु मात्र स्वास्थ्य संस्थामा जन्मिने गरेका थिए भने, सन् २०२२ अनुसार ७९ प्रतिशत जीवित जन्महरू स्वास्थ्य संस्थामा हुने गरेका छन्, जुन उल्लेखनीय वृद्धि हो । साथै बच्चा जन्मेपछि, १० मध्ये ७ महिला र नवजात शिशुहरूलाई जन्मेको दुई दिनभित्र स्वास्थ्य जाँच गराएको पाइएको छ ।
सर्भे रिपोर्टमा उल्लेख गरिए अनुसार नेपालमा आधाभन्दा बढी (५७ प्रतिशत विवाहित महिलाले परिवार नियोजनको साधन वा विधि प्रयोग गर्छन्, जसमध्ये ४३ प्रतिशतले आधुनिक परिवार नियोजनको साधन वा विधि प्रयोग गर्छन् र १५ प्रतिशतले परम्परागत विधिहरू प्रयोग गर्छन् । महिला बन्ध्याकरण, डिपो र इम्प्लान्टजस्ता आधुनिक परिवार नियोजनका साधन वा विधिहरु नेपालमा सबैभन्दा बढी प्रयोग भएको पाइएको छ ।
सन् २०२२ मा नेपालले कुल प्रजनन दरलाई २ दशमलव १ प्रतिशतमा घटाउने दिगो विकास लक्ष्य २०३० लाई पूरा गरेको देखाउँछ । विगत साढे दुई दशकमा नेपालमा प्रजनन दर आधाले घटेको देखिन्छ, सन् १९९६ मा प्रतिमहिलाले ५ बच्चा जन्माउँथे भने सन् २०२२ मा प्रतिमहिलाले २ दशमलव १ बच्चा मात्र जन्माउँछन् ।
यस्तै गरी पाँच वर्षमुनिको बाल मृत्युदर उल्लेखनीय रुपमा घटेको देखिन्छ । सन् १९९६ मा ५ वर्षमुनिका प्रति १ हजार जीवित जन्ममा १ सय १८ जनाको मृत्यु हुने गर्दथ्यो भने सो मृत्युदर तुलनात्मकरूपमा घटेर हाल प्रति १ हजार जीवित जन्ममा ३३ को मृत्यु हुने गर्दछ ।
त्यस्तै दीर्घकालीन कुपोषणको एउटा संकेत पुड्कोपन वा उमेर अनुसार उचाइ कम हुनु हो । यो सर्वेक्षण अनुसार सन् १९९६ मा ५७ प्रतिशतमा रहेको पुड्कोपन घटेर सन् २०२२ मा २५ प्रतिशतमा झरेको छ । यो सर्वेक्षण अनुसार स्वास्थ्यको धेरै क्षेत्रमा प्रगति भएको देखाइए तापनि चुनौतीहरु अझै बाँकी नै छन् । नेपालमा ६ महिनाभन्दा कम उमेरका शिशुहरूलाई पूर्णरुपमा स्तनपान गराउने प्रवृत्तिमा समयसँगै उतारचढाव भएको देखिन्छ । यो सन् १९९६ मा ७५ प्रतिशत थियो भने सन् २०२२ मा ५६ प्रतिशतमा झरेको छ ।
विश्व पोषण निर्देशिकाले शिशुहरूलाई बाल मृत्यु तथा अन्य रोगहरुबाट बचाउनको लागि जन्मेको पहिलो ६ महिनासम्म पूर्णरुपमा स्तनपान मात्र गराउन सिफारिस गर्दछ । साथै, नवजात शिशु मृत्यु दर पछिल्लो दशकमा प्रति १ हजार जीवित जन्ममा २१ मृत्युमा स्थिर रहेको देखिन्छ । किशोरी अवस्थाको प्रजनन दर उच्च रहेको देखिन्छ, जसमा १५–१९ उमेर समूहका १४ प्रतिशत किशोरीहरु गर्भवती हुने गरेको देखिएको छ ।
कोभिड खोपमा सफलता मिले तापनि बालबालिकाको नियमित खोप कभरेज आश्चर्यजनक ढंगले अघिल्लो सर्वेक्षणहरुमा भन्दा घटेको पाइएको छ । हाल ८० प्रतिशत बालबालिकाले सबै आधारभूत एन्टिजेन्सहरूविरुद्ध खोप लगाएका छन्, जुन २०११ मा ८७ प्रतिशत थियो ।
२०२२ को सर्वेक्षणले कुनै पनि खोप नपाएका बालबालिकाको प्रतिशतमा पनि थोरै वृद्धि भएको देखाएको छ, जुन २०१६ को सर्वेक्षणमा १ प्रतिशत थियो भने अहिले २०२२ को सर्वेक्षणमा ४ प्रतिशत रहेको छ । नेपालमा १५ वर्ष वा सोभन्दा माथिका १८ प्रतिशत महिला र २३ प्रतिशत पुरुषलाई उच्च रक्तचाप भएको देखिन्छ । यो सर्वेक्षण अनुसार प्रति १ लाख व्यक्तिहरुमध्ये १४ जनाको मृत्यु सडक दुर्घटनाका कारणले हुने गर्दछ, जसमध्ये सबैभन्दा बढी मृत्यु वा घाइते भएका ६८ प्रतिशत सडक दुर्घटना, मोटरसाइकलको कारणले हुने गर्दछ ।
यस सर्वेक्षणमा १५–४९ वर्षका २२ प्रतिशत महिला र ११ प्रतिशत पुरुषहरूले चिन्ताका लक्षणहरू अनुभव गरेको पाइयो । समग्रमा, १५–४९ वर्षका महिलाहरूमध्ये २३ प्रतिशतले कुनै न कुनै समयमा शारीरिक हिंसाको अनुभव गरेका छन् भने ८ प्रशितले १५ वर्षको उमेरदेखि यौन हिंसाको अनुभव गरेका छन् । समग्रमा, नेपालमा ७२ प्रतिशत विवाहित महिलाहरुले आफ्नो स्वास्थ्यको हेरचाहसम्बन्धी निर्णय आफैँ वा संयुक्तरुपमा गर्ने गर्दछन् ।
राष्ट्रिय र प्रादेशिक स्तर, शहरी र ग्रामीण क्षेत्रहरू, तीन भौगोलिक क्षेत्रहरु, हिमाल, पहाड र तराईका आधारमा जनसांख्यिक तथा स्वास्थ्य सूचकहरूको अद्यावधिक तथ्यांक यो सर्वेक्षणले प्रदान गर्दछ । यस सर्वेक्षणमा राष्ट्रको पूरै प्रतिनिधित्व हुने गरी १३ हजार ७ सय ८६ घरधुरीमा १५–४९ वर्षका १४ हजार ८ सय ४५ जना महिला छनौटमा परेका आधा घरधुरीबाट १५–४९ वर्षका ४ हजार ९ सय १३ जना पुरुषहरुलाई अन्तरवार्तामा समावेश गरिएको थियो । यसमा महिलाहरूको लागि ९७ प्रतिशत र पुरुषहरूको लागि ९५ प्रतिशत उत्तर दर प्रतिनिधित्व गर्दछ ।
यो सर्वेक्षण स्वास्थ्य मन्त्रालयको नेतृत्वमा न्यू एराले सम्पन्न गरेको हो । यस सर्वेक्षणलाई अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यु.एस.आई.डी.) बाट आर्थिक सहयोग प्राप्त भएको थियो ।
प्रतिक्रिया