पच्चीस वर्षीया शर्मिला तीनपटक गर्भ खेर गइसकेको गुनासो लिएर अस्पताल आइन् । उनका ती सबै गर्भहरु शुरुवाती तीन महिनाको अवधिमै तुहिएका रहेछन् । त्यसरी पटक–पटक गर्भ खेर जानुको कारण भने यकिनका साथ पत्ता लाग्न सकेको रहेनछ । यस पटकचाहिँ गर्भधारण गर्नुअगावै उनी सल्लाहका लागि आएकी थिइन् । उनलाई फोलिक एसिड भनिने एक किसिमको भिटामिन दिई महिनावारी रोकिनेबित्तिकै आउनको लागि सल्लाह दिइयो ।
केही हप्तापछि उनको महिनावारी रोकिएछ । उनले घरमै पिसाबबाट गर्भजाँच गर्दा पोजिटिभ रिजल्ट आएछ । त्यसपछि उनी अस्पताल आइन् । धेरै पटक गर्भ खेर गएका गर्भवती महिलाहरुमा गर्नुपर्ने सबैखाले परीक्षणका लागि स्याम्पलहरु ल्याबमा पठाइयो । तर यो पटकको गर्भ पनि राम्रो होला भन्ने कुरामा उनी त्यति निश्चिन्त थिइनन् । बरोबर चिन्ता व्यक्त गरिरहन्थिन् ।
यो पटकको भेटमा तिनलाई सम्झाउन, बुझाउन अनि काउन्सेलिङ गर्न निकै समय लाग्यो । पाँच, सातजना सेवाग्रहीलाई सम्झाउँदा लाग्ने समय नै उनलाई दिनुपरेको थियो । अनेक उदाहरण दिईकन लामो समयसम्मको परामर्शपछि घर जाने बेला तिनको अनुहारमा हल्का मुस्कान पोतियो । तिनी नियमित गर्भवती परीक्षणको लागि आइरहेकी छिन्, पाँच महिना कटिसक्यो, सबै राम्रो नै भइरहेको छ । अबचाहिँ मानसिक तवरमा पनि तिनी बलियो भैसकेकी छिन् । यो पटकको गर्भ राम्रो होला भन्ने विश्वास छ ।
गर्भाधानको क्रममा शुक्रकीट र डिम्बको मिलन डिम्बवाहिनी नलीमा भई निषेचित भएर पाठेघरमा बस्ने क्रममा हल्का रातोपनजस्तो रक्तश्राव देखिनुबाहेक गर्भावस्थामा बढी मात्रामा रगत देखिनु राम्रो लक्षण मानिदैन । गर्भावस्थाकै दोस्रो त्रैमासिकभित्र योनिमार्गबाट अत्यधिक रगत बग्नुको कारण गर्भ तुहिएर हुन सक्छ । यस क्रममा तल्लो पेट दुख्ने, वाकवाकी लाग्ने, बेहोस हुने पनि हुन सक्छ । गर्भावस्थाको कुन त्रैमासिकमा र कति पटक गर्भ तुहिएको छ, त्यही अनुरुप कारण पनि फरक–फरक हुन सक्छ । यस्तो समस्या भएका महिलाको उमेर र तिनीहरुको सरोकार अनुरुप गर्भ तुहिने समस्याको उपचार गर्नुपर्ने हुन्छ ।
गर्भ तुहिएको कसरी थाहा हुन्छ ?
गर्भावधिको १२ हप्तासम्मको अवधिलाई पहिलो त्रैमासिक, १३ देखि २८ हप्तासम्मको अवधिलाई दोस्रो त्रैमासिक र गर्भ रहेको २९ हप्तादेखि ४० हप्तासम्मको अवधिलाई तेस्रो त्रैमासिक भनिन्छ । विकासोन्मुख देशहरुमा गर्भावस्थाको २८ हप्तासम्ममा (विकसित देशहरुमा २० हप्ता) पाठेघरभित्रको भ्रूण (गर्भे शिशु) तथा अन्य वस्तुहरु पाठेघरको मुख हुँदै बाहिर आउने प्रक्रियालाई गर्भ तुहिनु भनिन्छ ।
अधिकतम महिलामा एक–दुईपटक सामान्य तवरले गर्भ तुहिन सक्छ, थाहा नपाउनु छुट्टै कुरा हो । करिब १५ देखि २० प्रतिशत महिलामा क्लिनिकलरुपमा (पिसाब तथा रगत जाँचबाट) थाहा भएको गर्भ आफसे आफ गर्भ तुहिन सक्छ भने मुटुको धड्कन देखिएपछि वा सुनिएपछि चाहिँ यसरी आफसे आफ गर्भ तुहिने समस्या ६ देखि ८ प्रतिशतमा झर्दछ ।
समग्रमा करिब एक प्रतिशत गर्भवती महिलामा आफसे आफ गर्भ तुहिने समस्या हुन्छ । डिम्ब वा शुक्रकीटमा वंशाणुगत समस्या भएमा, पाठेघरमा भ्रूण बस्ने वातावरण अनुकूल नभएमा, पाठेघरमा मासु बढेमा, जननेन्द्रियभित्र कीटाणुजन्य संक्रमण भएमा, गर्भावस्थाको शुरुतिर अधिक ज्वरो आउने कुनै संक्रमण भएमा गर्भ तुहिन सक्छ । तर गर्भावस्थाको दोस्रो त्रैमासिकतिर गर्भ तुहिनुका प्रमुख कारणहरुमध्ये पाठेघरको मुख खुकुलो हुनु पनि हो ।
त्यसै गरी गर्भावस्थामा धेरै ज्वरो आउने, गन्धयुक्त योनिश्राव बग्ने, रगत देखा पर्ने, तल्लो पेट दुख्ने आदि समस्या छ भने हेलचेक्र्याइँ गर्नुहँुदैन । संक्रामक तथा यौनरोगहरुका कारण गर्भ तुहिन लागेको हुन सक्छ । त्यसैले पनि तुरुन्त उपचार गर्नेतर्पm लाग्नुपर्दछ ।
यदि पहिले एकपटक जीवित बच्चा जन्माइसकेको महिलामा यो पटक गर्भ तुहिने सम्भावना १२ प्रतिशत हुन्छ भने पहिले एकपटक, दुईपटक, तीनपटक, चारपटक र सो भन्दा बढी पटक गर्भ तुहिसकेकामा यो पटक क्रमशः २४ प्रतिशत, २६ प्रतिशत, ३२ प्रतिशत, ४६ प्रतिशत र ५० प्रतिशत फेरि गर्भ तुहिन सक्छ । तर यदि पहिले कुनै जीवित बच्चा जन्माइसकेको छैन भने दुई वा सो भन्दा बढी पटक गर्भ तुहिनेबित्तिकै यो पटक गर्भ तुहिने सम्भावना ४० देखि ४५ प्रतिशत हुन्छ ।
विनाकारण गर्भ तुहिने क्रममा तल्लो पेट दुख्ने एवं योनिद्वारबाट रगत बहने (हल्का वा धेरै मात्रामा) प्रक्रियासँगै पाठेघरको मुख खुल्ला छ वा बन्द छ, गर्भे भ्रूणको मुटुको धड्कन बाँकी छ-छैन एवं पाठेघरभित्रको गर्भसम्बन्धी पदार्थहरु सबै निक्लिएको छ-छैनको आधारमा गर्भ तुहिने प्रक्रियालाई विभिन्न थरीमा छुट्याइएको हुन्छ ।
पटक–पटक किन गर्भ तुहिन्छ ?
कुनै पनि महिलामा तीन वा सो भन्दा बढी पटक लगातार गर्भ खेर जाने प्रक्रियालाई पटक–पटक गर्भ तुहिएको भनिन्छ । कुनै–कुनै महिलामा धेरै पटक गर्भवती भैसकेपछि एउटा पनि जीवित बच्चा हुँदैन । प्रसूतिको दृष्टिले यो त्रासदीपूर्ण परिस्थिति हो । यस्ता खालका महिलासँग पटक–पटक गर्भ खेर जानुको कारण पत्ता लगाउनु तथा त्यही अनुसार सही उपचार दिन सजग हुनुपर्छ ।
वंशाणुगत, जन्मजात पाठेघरको खराबी, इन्डोक्राइन ग्रन्थिसम्बन्धी (अनियन्त्रित मधुमेह, थाइरोइड) गडबडी, पाठेघर तथा स्त्री जननेन्द्रियको ब्याक्टेरियल एवं भाइरल संक्रमण, मादक पदार्थ तथा धूमपान गर्ने बानी र रक्तनलीभित्र रगत जम्ने (बाक्लिने) समस्या भएकामा (गर्भावस्थाको पहिलो त्रैमासिकतिर) पटक–पटक गर्भ तुहिने समस्या हुन्छ ।
यस्ता खाले महिला पहिलोपटक गर्भ जाँचको लागि आउँदा पुरानो रेकर्ड छ भने सबै विस्तृत तवरले केलाउनुपर्दछ । कतिपय महिलामा कारण पत्ता नलाग्न सक्छ । तर मधुमेह, रक्तनलीभित्रै रगत जम्ने समस्या, उच्च रक्तचाप, मिर्गौलाको खराबी, जन्मजात विकलांग (शारीरिक दोष), आमाको रक्तसमूह निगेटिभ थियो कि जाँच गर्नुपर्दछ । नेपालजस्तो विकासोन्मुख देशमा यस्तो अप्रिय घटना अपर्याप्त गर्भवती जाँच, सुत्केरी सेवा एवं नवजात शिशुको नपुग हेरचाहसँग सम्बन्धित हुन सक्छ ।
पटक–पटक गर्भ खेर गएकी महिलामा गर्भपूर्व नै फोलिक एसिड र गर्भवती बेलामा एस्पिरिन, हेपारिन (रगत जम्न नदिने) औषधि ख्वाउनुपर्ने हुन्छ । महिना पुग्नासाथै वा बच्चाको फोक्सो परिपक्व भएको निक्र्यौल हुनासाथ सिजेरियन अपरेसन गरेरै भए पनि सुत्केरी गराउन ढिलो गर्नुहुँदैन । एकपटक सफल भएपछि त्यसपछिका गर्भ त्यति समस्यापूर्ण नहुन सक्छ ।
गर्भावस्थाको दोस्रो त्रैमासिकतिर पटक–पटक गर्भ तुहिने कारण पाठेघरको मुख खुकुलो हुनाले हो । यस्ता खाले गर्भ तुहिँदा सानो सुतक (बच्चावरिपरिको पानीको थैली फुटेको) भएको केही समयपछि नै दुखाइविना व्यथा लागी गर्भ खेर जान्छ र गर्भे शिशु पनि जन्मेको केही क्षणसम्म चल्मलाउँछ ।
यस्तो शिशु बच्ने सम्भावना निकै कम हुन्छ । गर्भवती हुनुपूर्व तथा गर्भावस्थामा आन्तरिक जाँच तथा अल्ट्रासाउन्डको माध्यमबाट पाठेघरको मुख खुकुलो छ-छैन पत्ता लगाउन सकिन्छ । यस्ता समस्या भएका महिलाहरुमा अर्को पटकको गर्भ रहेको १४ देखि १६ हप्ता वा पहिले गर्भ तुहिएको अवधिभन्दा कम्तीमा २ हप्ताअगाडि म्याक डोनाल्ड भनिने खालको पाठेघरको मुखमा टाँका लगाइदिएको खण्डमा परिणाम राम्रो निस्कन्छ । अचेल यस्तो खाले टाँकाको सट्टामा गर्भावधिको २८ हप्तासम्म प्रोजेस्टेरोनयुक्त सुई प्रत्येक हप्ता दिँदा पनि उस्तै राम्रो परिणाम देखिएको छ ।
प्रतिक्रिया