तहवृद्धि भए पनि साबिककै निवृत्तिभरणप्रति गुनासो

0
Shares

हेटौँडा ।

बागमती प्रदेशमा क्रियाशील संयुक्त ट्रेड युनियन सञ्जालले प्रदेशमा समायोजन पश्चात् तहवृद्धि भएका कर्मचारीहरु सेवानिवृत्त हुँदा  निजामती किताबखानाले साविकको पदको निवृत्तिभरण प्रदान गरेको विषयमा प्रदेश सरकारले निर्णय गरी संघीय सरकारसँग समन्वयसाथ समस्या समाधान गर्नुपर्ने माग गरेको छ ।

निजामती सेवासम्बन्धमा सुझाव कार्यान्वयनका लागि प्रदेश सरकारसमक्ष बुझाइएको ज्ञापनपत्रमा उक्त माग गरिएको हो । प्रदेश निजामती सेवा नियमावली एक महिनाभित्र जारी गर्नुपर्ने, संगठन तथा व्यवस्थापन साउनभित्र जारी गरी पदपूर्ति प्रक्रिया अघि बढाउनुपर्ने, समायोजन प्रक्रिया समाप्त भएपछि र प्रदेशमा कर्मचारी उपलब्ध हुँदाहुँदै  संघबाट कामकाजमा खटाउने व्यवस्था अन्त्य गर्नुपर्ने माग पनि गरिएको छ ।

कामकाज तथा कुनै किसिमको सरुवा/काज/कामकाजका लागि सहमति पूर्णरुपमा बन्द गर्नुपर्ने, लोकसेवा आयोगबाट पदपूर्ति प्रक्रिया अघि बढिसकेकाले कामकाजमा खटाएका कर्मचारीलाई पदाधिकार रहेको तहमा फिर्ता गर्नुपर्ने र प्रदेश निजामती सेवाबमोजिम हालै एघारौं तहमा बढुवा भएका कर्मचारीलाई प्रदेश सचिवमा पदस्थापना गर्नुपर्ने माग छ ।

प्रदेश मन्त्रालय/निर्देशनालयमा अनिवार्यरुपमा लेखाको नवौं/दशौं दरबन्दीको व्यवस्था गर्नुपर्ने, प्रदेशका सबै जिल्लामा लेखा एकाईं कार्यालय स्थापना गर्नुपर्ने, वैदेशिक अध्ययन, तालिम, भ्रमणमा प्रदेशस्तरमा छुट्टै कोष स्थापना गरी सबै तहमा कार्यरत् कर्मचारीलाई समानुपातिकरुपमा पठाउने व्यवस्था गर्नुपर्ने र आधिकारिक ट्रेड युनियनको निर्वाचन नभएसम्मका लागि प्रदेशमा क्रियाशील संयुक्त ट्रेड युनियनको समन्वयमा प्रदेश निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन गठन गर्नुपर्ने माग पनि छ ।