‘मिस युनिभर्स नेपाल २०२३’को आवेदन खुल्यो



काठमाडौँ।

‘मिस युनिभर्स नेपाल २०२३’को आवेदन खुलेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा ब्युटी पेजेन्टकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले आवेदन खुल्ला भएको जानकारी दिइन् ।

मिस युनिभर्सको फ्रान्चाइजको रुपमा हुन लागेको यो चौंथो राष्ट्रिय प्रतियोगिता हो । प्रतियोगितामा भाग लिन चाहने सुन्दरीहरुले यही साउन १८ गतेसम्म आवेदन दिनसक्ने उनले बताइन् । उनले आगामी संस्करणलाई थप समावेशी बनाउने प्रयास भइरहेको बताइन्।

अबको संस्करणमा प्रतिस्पर्धीको उमेर सीमा बढाएर १८ देखि २८ वर्ष कायम गरिएको छ ।

मिस युनिभर्स नेपालका प्रबन्ध निर्देशक उद्धव अधिकारीले प्रतियोगिताले सबैलाई अवसर प्रदान गर्दै अघि बढ्न प्रोत्साहन दिने बताए । आउँदो संस्करणको विजेताले ७२औं मिस युनिभर्समा प्रतिनिधित्व गर्न पाउने छिन् । साथै, बिजेताले विद्युतीय स्कुटर पनि उपहारस्वरुप प्राप्त गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्