‘शरद’ जिताउन पनौती नगरपालिकाको आब्हान



काभ्रे ।

गायन विधाका प्रतिभाहरू समेटिएको रियालिटी शो ‘मेरो भ्वाईस युनिभर्स’को प्रतिस्पर्धामा काभ्रेपलाञ्चोक जिल्ला स्थित पनौती नगरपालिकाका युवा शरद हुमागाईलाई विजयी गराउन पनौती नगरपालिकाले संस्थागत आब्हान गरेको छ ।

विहिबार नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका तर्फबाट सम्पूर्ण नगरबासी, जिल्लाबासी तथा देशबासीहरुमा शरद हुमागाईलाई विजयी बनाउन सक्रिय भूमिका खेल्न आब्हान गरिएको हो ।

‘शरद पनौती नगरपालिकाका मात्रै होईनन् उनी जिल्ला र प्रदेशबाट प्रतिनिधित्व गर्ने एक मात्र युवा हुन्’–नगर प्रमुख रामशरण भण्डारीले भन्नुभयो–‘पनौती धार्मिक, सांस्कृतिक तथा ईतिहास लेखिएको नगरपालिका हो । विश्व सम्पदा सूचीमा सुचीकृत हुन प्रस्तावित गरिएको नगरपालिकालाई विश्वभर चिनाउने अभियानमा शरदको प्रतिस्पर्धामा सफलता प्राप्त हुनु आवश्यक छ ।’ नगरपालिकाका तर्फबाट शरदलाई विजयी बनाउन भूमिका खेल्न आब्हान गरिएको नगर प्रमुख भण्डारीले बताउनु भयो ।

उपप्रमुख गिता बञ्जाराले नगरपालिकाको गौरवका रुपमा शरदले प्रस्तुत गरेको भ्वाईस अन्तराष्ट्रिय स्तरमा समेत नेपाल चिनाउने भएकाले उनको विजयी यात्रामा सहयात्री बनिदिन सम्पूर्णमा अनुरोध गर्नु भयो । वडा अध्यक्ष पुरुषोतम अधिकारीले पनौती २ घर भएका शरदको बाल्यकालका बारेमा चर्चा गर्दै अन्र्तराष्ट्रिय स्तरको कार्यक्रममा सहभागि भई प्रतिस्पर्धाको सातौ स्थानमा आएर शरदले जिल्लाकै गौरव बढाएको बताउनु भयो ।

शरदकी आमा विनिता हुमागाईले सानै देखि संगित प्रति रुची राखेको भए पनि कतै संगित सिक्न नपाएको छोरा शरदको प्रतिस्पर्धाले हौसला मिलेको बताउनु भयो । कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना र निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले शरदको विजयी यात्रालाई सहज बनाउन सम्पूर्णमा अनुरोध गर्नु भयो ।

के हो मेरो भ्वाईस युनिभर्स ?

ईन्टरनेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाद्धारा आयोजित रियालिटी शोका लािग ५२ देशका प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए । त्यस मध्येका २० वर्षिय शरद काभ्रेको पनौती स्थित कुशादेवीमा जन्मिएर सोहि स्थानमा रहेको लिलावती नेशनल एकेडेमीबाट औपचारिक शिक्षा प्रारम्भ गरेका थिए ।

कक्षा १० अध्ययन गर्दा गर्दै बाबु धुर्वप्रसाद हुमागाईको दुर्घटनामा निधन भएकाले उनको शिक्षाका लागि आमा विनिता र दुई दिदी बहिनीको संरक्षणबाट भएको थियो । निस्ट कलेज बनेपामा विसिए पाचौ सेमेस्टर अध्ययन गरिरहेका शरद विद्यालय र कलेजका उत्कृष्ट विद्यार्थी हुन् । गीत संगितमा अघि बढ्ने प्रेरणा भए पनि गीत संगित सम्वन्धी कक्षाहरु कहिल्यै लिने अवसर पाएका थिएनन् ।

ईन्टरनेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाद्धारा आयोजित मेरो भ्वाईस युनिभर्स कार्यक्रममा लागि शरद छनौट भएका थिए । निरन्तरको रियाजबाट शरद छनौट हुँदा हुँदै प्रतिस्पर्धाका अन्तिम ७ औ प्रतिस्पर्धी भित्र पर्न सफल भएका छन् ।

परदेशमा रहेका नेपाली र नेपालमा रहेका प्रतिभाहरुलाई एउटै मञ्चमा समेट्न साथै नेपाली भाषा, कला र संस्कृतिलाई विश्व सामु चिनाउने तथा विश्वभर छरिएर रहेका नेपालीहरुलाई समेट्ने गरी आयोजना गरिएको कार्यक्रम नेपाल टेलिभिजनबाट हरेक बुधबार र विहिबार प्रसारण हुँदै आएको छ । रियालिटी शोको पुरस्कार राशी नेपालमा सञ्चालित शो मध्येकै सर्वाधिक हो । प्रतियोगितामा प्रथम पुरस्कार १ करोड, द्धितीय पुरस्कार ३० लाख र तृतीय पुरस्कार २० लाख नेपाली रुपैयाँ रहेको छ ।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका’ले आयोजना गरेको विश्वकै सबैभन्दा ठुलो धनराशि रहेको रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’को निर्णायकमा दीप श्रेष्ठसँगै पुष्पन प्रधान, शिव परियार, संगीतकार सुरेश अधिकारी, गायिकाद्धय अन्जु पन्त र सुजता बर्मा रहनु भएको छ । कार्यक्रमलाई हाँस्य कलाकार सन्दीप क्षेत्रीले रीमा विश्वकर्मासँग मिलेर होस्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्