फिलिपिन्ससँग न्युजिल्यान्ड स्तब्ध



लन्डन, (एजेन्सी) । सह–आयोजक न्युजिल्यान्ड फिफा महिला विश्वकप फुटबल २०२३ मा फिलिपिन्ससँग स्तब्ध बनेको छ ।

न्युजिल्यान्ड घरेलु मैदानमा डेब्यु विश्वकप खेलिरहेको फिलिपिन्ससँग १–० गोलअन्तरले स्तब्ध बनेको हो । न्युजिल्यान्डलाई स्तब्ध पार्न पहिलो हाफमा सरिना बोल्डेनले गरेको गोल नै निर्णायक बन्यो । न्युजिल्यान्डको विलिङ्टनस्थित विलिङटन रिजनल स्टेडियममा मंगलबार भएको खेलमा सरिना बोल्डेनले खेलको २४औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् ।

विश्वकपमा फिलिपिन्सको यो पहिलो गोल हो । बोल्डेन विश्वकपमा गोल गर्ने पहिलो फिलिपिनी खेलाडी बनेकी छिन् । एक गोलले पछि परेको न्युजिल्यान्डले त्यसपछि बल पोसेसन राख्दै फिलिपिन्समाथि लगातार दवाव बढाएर आक्रमण बुनेपनि गोल गर्न नसक्दा स्तब्ध बन्न पुग्यो ।

खेलको ६८औं मिनेटमा ज्याकलिन हान्डले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा न्युजिल्यान्ड बराबरीबाट चुक्यो । त्यसपछि पनि गोल निस्कन नसक्दा न्युजिल्यान्डले हार बेहोर्न पुग्यो । समूहमा न्युजिल्यान्डको यो पहिलो हार हो । यसअघि न्युजिल्यान्डले पहिलो खेलमा नर्वेलाई १–० ले पराजित गरेको थियो । पहिलोपल्ट विश्वकप खेलिरहेको फिलिपिन्सको यो विश्वकपमा पहिलो र ऐतिहासिक जित हो ।

न्युजिल्यान्डमाथिको ऐतिहासिक जितसँगै फिलिपिन्सले नकआउट चरण पुग्ने सम्भावना कायमै राखेको छ । फिलिपिन्स पहिलो खेलमा स्वीट्जरल्यान्डसँग २–० ले पराजित भएको थियो । यस जितसँगै फिलिपिन्सले समूह ‘ए’ मा दुई खेलबाट तीन अंक जोडेको छ । समान तीन अंक नै रहेपनि फिलिपिन्स स्वीट्जरल्यान्ड र न्युजिल्यान्डसँग गोल अन्तरमा पछि छ ।

नर्वे र स्विटजरल्यान्डले अंक बाँडे

त्यसैगरी स्वीट्जरल्यान्ड र नर्वेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । वाइकाटो स्टेडियम ह्यामिल्टन न्युजिल्यान्डमा मंगबार भएको प्रतिस्पर्धातमक खेलमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो ।

स्वीट्जरल्यान्ड र नर्वेको बराबरीले यो समूह ‘ए’ बाट नकआउट चरणमा पुग्न सबै चारै टोलीको सम्भावना खुल्ला बनेको छ । यस बराबरीसँगै समूह ‘ए’ मा शीर्षस्थानमा रहेको स्वीट्जरल्यान्डको दुई खेलबाट चार अंक पुगेको छ ।

स्वीट्जरल्यान्डले पहिलो खेलमा फिलिपिन्सलाई २–० ले पराजित गरेको थियो । समुहमा पहिलो अंक जोडेको नर्वे दुई खेलबाट एक अंक जोडेर पुछारमा छ । नर्वे पहिलो खेलमा न्युजिल्यान्डसँग १–० ले पराजित गरेको थियो ।

त्यसैगरी अर्को खेलमा दक्षिण अमेरिकी राष्ट्र कोलम्वियाले एसियाली राष्ट्र दक्षिण कोरियामाथि २–० को सहज जित हात पा¥यो । सिड्नी फुटबल स्टेडियम सिड्नी अष्ट्रेलियामा मंगलबार भएको खेलमा कोलम्वियाको सहज जितमा काटालिना उस्मी र लिन्डा काइसेडोले गोल गरिन् । दुवै गोल पहिलो हाफमा भएको थियो ।

खेलको सुरुवातदेखि नै बल पोेसेसन राख्दै दवाब बढाएको कोलम्वियाले गोलको लागि ३९औं मिनेट कुर्नुपरेको थियो । काटालिना उस्मीले गोल गर्दै कोलम्वियाको गोलको खाता खोलिन् । उनले पेनाल्टीमार्फत गोल गर्न सफल भएकी थिइन् । मानुएला भानेगासको शक्तिशाली भली प्रहार सि यिन सिमले हातले रोक्न पुगेपछि रेफ्रीले कोलम्वियालाई पेनाल्टी प्रदान गर्दा काटालिन चुकिनन् ।

३९औं मिनेटमा लिन्डा काइसेडोले गोल गर्दै कोलम्वियालाई पहिलो हाफमा २–० को अग्रता दिलाइन् । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा पहिलो हाफको दुई गोल नै कोलम्वियालाई तीन अंक बटुल्न पर्याप्त बन्यो ।

यस जितसँगै कोलम्वियाले समूह ‘एच’ मा तीन अंक बटुलेर नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ । समान तीन अंक नै भएपनि जर्मनी गोल अन्तरमा शीर्षस्थानमा छ । यो समूहमा दक्षिण कोरिया र मोरोक्कोले अंकको खाता खोल्न सकेको छैन । सोमबार जर्मनीले मोरोक्कोमाथि ६–० को फराकिलो जित निकालेको थियो ।

महिला विश्वकपमा फेयरको कीर्तिमान

फिफा महिला विश्वकपमा मंगलरबार कोलम्बियाविरुद्ध मैदान उत्रिएसँगै दक्षिण कोरियन स्ट्राइकर क्यासी फेयरले नयाँ कीर्तिमान कायम गरेकी छन् । फेयर फिफा महिला विश्वकप खेल्ने सबैभन्दा कम उमेरकी खेलाडी बनेकी हुन् । कोलम्बियाविरुद्ध मैदान उत्रिदा फेयरको उमेर १६ वर्ष २६ दिन थियो । फेयर अस्ट्रेलियाको सिड्नी फुटबल रंगशाला (एलियन्ज) मा जारी खेलको ७८ औं मिनेटमा मैदान प्रवेश गरेकी थिइन् । उनले चो यु–रीको स्थान लिएकी थिइन् ।

फेयरको जन्म सन् २००७ जनु २९ मा भएको थियो । अमेरिकी बाबु र कोरियन आमाको सन्तान फेयरको परिवार अमेरिकाको न्यूजर्सी स्थित वारेन टाउनसिपमा बस्छ । फेयरले दक्षिण कोरियाको यू–१७ टोलीबाट पनि खेलिसकेकी छन् । फेयरले नाइजेरीकी आइफिनी चिजिनीको कीर्तिमान तोडेकी हुन् । सन् १९९९ को विश्वकपमा उत्तर कोरियाविरुद्ध मैदान उत्रीदाँ उनको उमेर १६ वर्ष ३४ दिनको थियो ।

प्रतिक्रिया दिनुहोस्