माओवादी केन्द्र नेतृत्वको सरकार भएकोमा खुशी लागेको छ : विप्लव

0
Shares

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिले माओवादी केन्द्र नेतृत्वको सरकार भएकोमा खुशी लागेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौतिः भ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै महासचिव विप्लवले अहिलेको भ्रष्टाचार विरोधी अभियानमा माओवादी केन्द्र नेतृत्वको सरकारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुनु, त्यसमा उपेन्द्र यादवसहितका दलहरु सहभागी हुनु खुशीको कुरा भएको जिकिर गरे ।

उनले भने. ‘‘अहिले गृहमन्त्री, उपप्रधानमन्त्रीजी जो हुनुहुन्छ । खुशी पनि लागेको छ । नेपाल कम्युनिष्ट पार्टी (माअ‍ोवादी केन्द्र)को नेतृत्वमा सरकार छ । र हाम्रो उपेन्द्र यादव कमरेड पनि हुन्छ । अरु समाजवादी पार्टीहरु पनि सबै हुनुहुन्छ । र एउटा लडाई जस्तो पनि देखिएको छ । यो राम्रो कुरा हो । हामीले भनेका छौं–सरकारले त्यो लडाई लडनु पर्छ । सडकबाट हाम्रो पार्टीले जनतालाई एकीकृत गरेर त्यसमा साथ दिन्छ । र हामीले दिएका पनि छौं । यो सही कुरा हो । र यो स्मरणीय कुरा के भएको छ भने हाम्रो पार्टीलाई प्रतिबन्ध लाग्नुभन्दा पहिला नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको भए शायद लाग्दैन थियो होला भन्ने पनि मलाई अहिले सम्झना भइरहेको छ ।’’

भ्रष्टाचार विरोधी लडाइमा सरकार आफैं सहभागी हुनु रामो कुरा भएको उल्लेख गर्दै उनले त्यसका लागि सरकारलाई आफ्नो पार्टीले सडकबाट जनतालाई एकीकृत गरेर साथ दिइरहेको दाबी समेत गरे ।

महासचिव विप्लवले दलाल पूँजीवादी व्यवस्था कायमै रहेकाले नेपालमा पनि भ्रष्टाचार मौलाएको जिकिर समेत गरे । यो व्यवस्था रहेकै कारण मुलुकमा भ्रष्टाचार नागरिक तहसम्म सल्केको उनको बुझाइ थियो ।