स्वीडेनले जित्यो, पोर्चुगल पराजित



लन्डन, (एजेन्सी) । फिफा महिला विश्वकप २०२३ मा स्वीडेनले जितको नतिजा निकाल्यो भने पोर्चुगलले हार बेहोरेको छ ।

समूह ‘जी’ को खेलमा स्वीडेनले अफ्रिका कप अफ नेसनको विजेता दक्षिण अफ्रिकामाथि २–१ गोलअन्तरको पूनरागमन जित निकालेको हो । स्वीडेनले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित दर्ता गरेको हो । वेलिङटन रिजनल स्टेडियम न्युजिल्यान्डमा भएको खेलमा स्वीडेनको पूनरागमन जितमा फ्रिडोलिना रोल्फो र एमाडाले गोल गरेकी थिईन् ।

दक्षिण अफ्रिकाका हिल्दाह मागएइयाको गोल भने सान्त्वना बन्यो । खेलमा स्वीडेनले पकड बनाएपनि ४८औं मिनेटमा गोल बेहोर्न पुगेको थियो । ४८औं मिनेटमा हिल्दाहले गोल गरेपछि स्वीडेन खेलमा पछि परेको थियो । तर, दक्षिण अफ्रिकाको त्यो अग्रता लामो समयसम्म भने टिकेन ।

खेलको ६५औं मिनेटमा फ्रिडोलिनाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएकी थिईन् । त्यसपछि बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयमा एमाडाले गोल गर्दै स्वीडेनलाई पूनरागमन जित दिलाइन् । यस जितसँगै स्वीडेनले तीन अंक जोडेको छ । दक्षिण अफ्रिका भने अंकविहीन हुँदै पुछारमा छ । दक्षिण अफ्रिकाले विश्वकपमा अहिलेसम्म अंक जोड्न सकेको छैन । दक्षिण अफ्रिकाले २०१९ विश्वकपमा तीनै खेलमा हार बेहोरेको थियो ।

नेदरल्यान्ड्सको जित

अर्को खेलमा गत विश्वकपको उपविजेता नेडरल्यान्ड्सले नवप्रवेशी टोली पोर्चुगललाई हराएको छ । न्युजिल्यान्डस्थित डुनेडिन स्टेडियममा आइतबार भएको खेलमा पोर्चुगल नेदरल्यान्ड्ससँग १–० गोलअन्तरले पराजित भएको हो । पोर्चुगलको हारमा पहिलो हाफमा स्टेफानी भान डर ग्रागटले गरेको गोल नै निर्णायक बन्यो । उनले १३औं मिनेटमा सेरिदाको पासमा गोल गर्न सफल भएकी थिईन् । एक गोलले अग्रता लिएको नेदरल्यान्ड्सले खेलमा पनि बल पोसेसन राख्दै त्यही अग्रतालाई कायम राखेर महत्वपूर्ण तीन अंक बटुल्न सफल भयो ।
यस जितसँगै समूह ‘ई’ मा नेदरल्यान्ड्सको तीन अंक भएको छ । समान तीन अंक नै भएपनि गोलअन्तरमा दुई पटकको साविक विजेता अमेरिका शीर्षस्थानमा छ । पराजित पोर्चुगल अंकविहीन छ । भियतनामले पनि अंकको खाता खोल्न सकेको छैन । पोर्चुगल र भियतनामले महिला विश्वकपमा पहिलो पटक खेलिरहेका हुन् ।

फ्रान्सलाई जमैकाले रोक्यो

त्यसैगरी अर्को खेलमा फ्रान्स जमैकासँग बराबरीमा रोकिएको छ । प्रतियोगिताको उपाधि दावेदारीमध्ये एक फ्रान्स जमैकासँग गोलरहित बराबरीमा रोकिएको हो । सिड्नी फुटबल स्टेडियम सिड्नी अष्ट्रेलियामा आइतबार भएको खेलमा फ्रान्सले ७२ प्रतिशत बल पोसेसन राख्दै जमैकालाई दवाबमा राखेपनि गोल गर्न नसक्दा अंक बाड्न बाध्य बन्यो ।

फ्रान्सको हरेक आक्रमणमा जमैकाकी गोलरक्षक रेविका स्पेन्सर बाधक बनिन् । इन्ज्युरी समयमा जमैका १० खेलाडीमा समेटिन पुग्यो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा खादिजा सा दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिदा जमैका १० खेलाडीमा समेटिन पुग्यो । तर, त्यसको फाइदा फ्रान्सले उठाउन सकेन ।

यस बराबरीसँगै समूह ‘एफ’ मा फ्रान्स र र जमैकाले समान एक अंक जोडेका छन् । यो समूहमा ब्राजिल र पानामाले कुनै खेल खेलेको छैन । विश्वकपमा सोमबार तीन खेलमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘एफ’ मा ब्राजिल पानामा, समूह ‘जी’ मा इटाली र अर्जेन्टिना तथा समूह ‘एच’ मा जर्मनी र मोरोक्कोबीच प्रतिस्पर्धा हुनेछ ।

त्यसअघि शनिबार राति भएको समूह ‘डी’ को खेलमा डेनमार्कले चीनलाई १–० ले पराजित गरेको थियो । डेनमार्कको जितमा ८९औं मिनेटमा एमाली भांगस्गार्डले गरेको गोल निर्णायक बन्यो । यस जितले डेनमार्क तीन अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान तीन अंक भएपनि इंग्ल्यान्ड गोलअन्तरमा पछि छ । चीन र हाइटी भने अंकविहीन छन् ।

प्रतिक्रिया दिनुहोस्