आयोजक न्युजिल्यान्डको ऐतिहासिक जित, १९९५ को विजेता नर्वे स्तब्ध



लन्डन, (एजेन्सी) । आयोजक न्यूजिल्यान्डले फिफा महिला विश्वकपमा ऐतिहासिक जित निकालेको छ ।

न्यूजिल्यान्डले अकल्यान्डस्थित इडेन पार्कमा बिहीबार सम्पन्न उद्घघाटन खेलमा नर्वेलाई १–० गोलअन्तरले हराएको हो । विश्वकपमा न्यूजिल्यान्डको यो पहिलो जित हो । यसअघि भएका १५ खेलमा न्यूजिल्यान्डले कुनै जित निकाल्न सकेको थिएन । न्युजिल्यान्डको जितमा दोस्रो हाफमा हानह विल्किन्सनले गरेको गोल नै निर्णायक बन्यो । १९९५ विश्वकपको विजेता नर्वे पहिलो खेलमै स्तब्ध बनेको थियो ।

न्युजिल्यान्डस्थित अकल्यान्डको इडेन पार्कमा बिहीबार भएको प्रतिस्पर्धात्मक रोमाञ्चक बनेको खेलमा विल्किन्सनले खेलको ४८औं मिनेटमा ज्याकलिन हान्डको पासमा गोल गर्न सफल भएकी थिइन् । अन्तिम समयमा न्युजिल्यान्डको अग्रता दोब्बर पार्ने मौका पाएपनि रिया पर्सिभलले पेनाल्टी चुकाइन् । यस जितसँगै न्युजिल्यान्डले समूह ए मा तीन अंक बटुलेको छ । पराजित नर्वे अंकविहीन छ ।

यसैगरी स्टेफ क्याट्लेको निर्णायक गोलमा सहआयोजक अष्ट्रेलियाले पनि विजयी सुरुवात गरेको छ । घरेलु मैदानमा अष्ट्रेलियाले गणतन्त्र आयरल्यान्डलाई १–० ले पराजित गर्दै समूह ‘बी’ मा जितसहित महत्वपूर्ण ३ अंक बटुलेको हो ।

अष्ट्रेलियाको सिड्नीस्थित एकर स्टेडियम (स्टेडियम अष्ट्रेलिया) मा बिहीबार भएको खेलमा घरेलु टोलीको जितमा दोस्रो हाफमा क्याट्लेले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । उनले ५२औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् । कोनी क्रसले दिएको पासलाई नियन्त्रण लिने प्रयास गर्दा हेली रासोलाई आयरल्यान्डकी मारिसा सेभाले पेनाल्टी बक्समा फाउल गरेपछि रेफ्रीले अष्ट्रेलियालाई पेनाल्टी प्रदान गर्दा क्याट्ले चुकिनन् ।

कीर्तिमानी ७५ हजार ७ सय ८४ जना दर्शक उपस्थित रहेको खेलमा खेलभर नै बल पोसेसन राख्दै घरेलु टोलीले आयरल्यान्डमाथि दवावमा राखेको थियो । यस जितसँगै समूह ‘बी’ अष्ट्रेलियाले ३ अंक बटुलेको छ । पराजित आयरल्यान्ड अंकविहीन छ ।

शुक्रबार तीन खेलमा प्रतिस्पर्धा हुनेछ । नाइजेरिया र क्यानडा, फिलिपिन्स स्वीट्जरल्यान्ड तथा स्पेन र कोस्टा रिकाबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ ।

त्यसअघि नवौं संस्करणको विश्वकपको इडेन पार्कमा भव्य उद्घघाटन गरिएको थियो । न्युजिल्यान्डका र अष्ट्रेलियाका स्थानीय कलाकार मल्लराटले उद्घघाटन समारोहमा महिला विश्वकपको लागि आधिकारिक गीत प्रस्तुत गरेका थिए ।

न्युजिल्यान्ड र अष्ट्रेलियाको विभन्न नौ स्थानमा आगामी २० अगस्टसम्म चल्ने महिला विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछ । फाइनल सिड्नीस्थित एकर स्टेडियम (स्टेडियम अष्ट्रेलिया) मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्