नेपालको यूएईमाथि जित



काठमाडौं । नेपालले एसीसी इमर्जिङ एसिया कपमा युएईको ए टोलीमाथि ३ विकेटको जित हासिल गरेको छ । यो जितसँगै नेपालले प्रतियोगिताअन्तर्गत समूह बी मा पहिलो जित निकाल्यो । यसअघि नेपाल र यूएई भारत र पाकिस्तानको टोलीसँग पराजित भएर प्रतियोगिताबाट बाहिरिसकेका थिए । यो नतिजापछि समूहमा यूएईले तीनै खेलमा हार बेहोरेको छ ।

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ६ विकेट पराजित भएको थियो । दोस्रो खेलमा नेपाल भारत ए सँग ९ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । नेपालले अव दुई महिनापछि चिनमा हुने १९ औं दक्षिण एसियाली खेलकुदको लागि तयारी गर्नेछ ।
यूएईले जितको लागि १ सय ५८ रनको लक्ष्य नेपाललाई दिएको थियो । नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले सर्वाधिक ७१ रनको योगदान दिए । उनले ४३ बलको सामना गर्दा ९ चौका र ४ छक्का प्रहार गरेका थिए ।

नेपालले ओपनर अर्जुन साउदलाई पहिलो बलमै गुमाएको थियो । यसपछि कुशल र देव खनालले दोस्रो विकेटका लागि १२.५ ओभरमा ९८ रनको साझेदारी गरेका थिए । देवले २४ रन जोडेका थिए । यसैगरी सन्दीप जोराले पनि २४ रनको योगदान दिए । कप्तान रोहित पौडेल भने ९ रनमा आउट भए भने गुलशन झाले ११ रन बनाएका थिए । युएईका स्पिनर मोहम्मद फराजुदिनले ६ ओभरमा १ मेडनसहित ३६ रन खर्चेर सर्वाधिक ५ विकेट लिएका थिए ।

त्यसअघि कुशलले बलिङमा जादुमय प्रदर्शन गर्दा यूएईको इनिङ १ सय ५७ रनमै समेटिएको थियो । कुशलले १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिएका थिए । उनी प्लेयर अफ द म्याच चुनिए । युएईको लागि सर्वाधिक रन ओपनर लवप्रीत सिंहले बनाए । उनले सर्वाधिक ५२ रनको योगदान दिए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

कुशलको कीर्तिमान

कुशल भुर्तेलले यूएईविरुको खेलमा कीर्तिमान बनाएका छन् । नेपाली क्रिकेटको इतिहासमा उनले दुर्लभ कीर्तिमान सिर्जना गरेका हुन् । उनले पहिले बलिङमा ६ विकेट लिए त्यसपछि ब्याटिङमा अर्धशतक पुरा गरे । योसँगै उनी एउटै खेलमा ५ भन्दा बढी विकेट लिने र अर्धशतक प्रहार गर्ने पहिलो नेपाली क्रिकेटर बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्