‘लम्की स्किन’ जल्दोबल्दो समस्या



लामो समयदेखि देशभरका पशुमा देखिएको ‘लम्की स्किन’ रोग महामारीको रुपमा फैलँदो अवस्थामा रहेको छ । यो रोगका कारण हजारौं पशुको मृत्यु हुँदा पनि यसको रोकथामतर्फ कसैको ध्यान गएको देखिँदैन । सरकारले यस रोग नियन्त्रणका लागि प्रभावकारी कदम चालेको दावी गरे पनि यो रोग तीव्ररुपमा नेपालभर फैलँदो अवस्थामा रहेको छ । विगत तीन वर्षदेखि नेपालमा नयाँ रोगको रुपमा फैलन थालेको यो रोग लागेर लाखौं पशुको मृत्यु हुँदा किसानहरुले ४० अर्बभन्दा बढी रकमको क्षति व्यहोर्नुपरेको छ । सरकारले नेपाललाई दूध र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने घोषणा गरे पनि अहिलेसम्म त्यसको लक्ष्य भेट्टाउनेतर्फ राज्य असफल हुँदै आएको छ । झन् यो रोगको संक्रमण देशभर फैलँदो अवस्थामा रहेको छ तर नियन्त्रणका उपाय भने कागजमा सीमित हुन पुगेको छ ।

नेपाललाई कृषि, मासुजन्य पदार्थ र दूधमा आत्मनिर्भर बनाउने भनेर कृषि विकास रणनीतिमा १५ औं योजनाको अन्तिम वर्ष २०८०–८१ मा दोस्रो महत्वपूर्ण मूल्य शृङ्खलामा दूधलाई राखिएको छ भने त्यसपछि मासुलाई राखिएको छ । तर लम्की रोगका कारण त्यो सम्भावना भेट्टाउने लक्ष्य भने शून्यको अवस्थामा पुगेको छ । नेपालमा यो रोग पहिलोपटक २०७७ साल असारमा मोरङको सुन्दर हरैंचा नगरपालिकामा देखा परेको थियो । यो रोग अन्यत्र फैलन नदिन सरकारले कदम चाल्न नसक्दा अहिले यो रोग देशका ७७ जिल्लामा नै फैलिएको छ । यो रोग अहिलेसम्म देशका ७५३ पालिकामध्ये ५४२ पालिकामा फैलिएको छ । यो रोगका कारण पछिल्लो आर्थिक वर्षमा किसानले कति क्षति व्यहोर्नुप¥यो भन्ने एकिन तथ्याङ्कसमेत राज्यसँग छैन । सरकार अहिले पनि अनुमानको भरमा चलेको देखिन्छ ।

पछिल्लो सरकारी तथ्याङ्कलाई हेर्ने हो भने ७७ जिल्लामा फैलिएको यो रोगका कारण २८ हजार ५ सयभन्दा बढी पशुको मृत्यु भएको छ भने ९९ हजारभन्दा बढी पशु यो रोगबाट संक्रमित भएका छन् । रोग लागेर निको भए पनि यो रोगबाट संक्रमित पशुको हरेक क्षमतामा ८० प्रतिशतभन्दा बढी ह्रास आउने भएकाले त्यसको प्रत्यक्ष मारमा किसान परेका छन् तर सरकार भने लम्की स्किन रोगबाट पशुलाई बचाउन हरसम्भव प्रयास गरेको भन्दै प्रचार गर्न व्यस्त छ । शुरुमा यो रोग नियन्त्रणका लागि राज्यबाट प्रभावकारी कदम चालिएको भए आज किसानले ४० अर्बको क्षति व्यहोर्नुपर्ने थिएन तर राज्य मुकदर्शक बनिदिँदा त्यसको मारमा किसान परेका छन् ।

यसले नेपालको अर्थतन्त्रमा समेत दीर्घकालीन असर गर्ने भए पनि नियामक निकाय निकम्मा बन्दा त्यसको मार आउँदो पुस्ताले समेत भोग्नुपर्ने अवस्था छ । हरेक क्षेत्रमा देखिएका यस्ता निराशाजनक सूचकले राज्य कुन ठाउँमा पुग्ला, अहिले नै यसो भन्न सकिने अवस्था छैन । त्यसैले लम्की स्किन रोगको विरद्ध सम्बन्धित निकायबाट प्रभावकारी कदम चालियोस् ।

प्रतिक्रिया दिनुहोस्