महिला राष्ट्रिय फुटबल टोलीलाई युनिलिभरको प्रायोजन- विश्वकपमै नपुगेको टोलीलाई मन्त्रीको शुभकामना !



काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई प्रायोजन गर्न युनिलिभर नेपाल र अखिल नेपाल फुटबल संघ (एन्फा) बिच प्रायोजन सम्झौता भएको छ ।

युनिलिभरले एक वर्षका लागि महिला राष्ट्रिय टोलीलाई प्रायोजन गर्ने भएको हो । सम्झौताअनुसार आगामी एक वर्षका लागि युनिलिभरले २५ लाख रुपियाँ प्रदान गर्ने एन्फाले जनाएको छ । मंगलबार एक कार्यक्रममा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले सम्झौता–पत्रमा हस्ताक्षर गर्नुभएको हो । उक्त कार्यक्रममा राष्ट्रिय टोलीकी गोलरक्षक तथा कप्तान एन्जिला तुम्बापो सुब्बाले महिला टोलीलाई प्रायोजन गरेकोमा युनिलिभरलाई धन्यवाद व्यक्त गर्नुभयो ।

त्यसैगरी एन्फा अध्यक्ष नेम्वाङले पनि प्रायोजन गरेकोमा युनिलिभरलाई आभार व्यक्त गर्नुभएको थियो । उहाँले उक्त सम्झौता नेपाली महिला फुटबल विकासमा नयाँ अध्यायका रूपमा रहने बताउनुभयो । सोही कार्यक्रममा युनिलिभरका प्रबन्ध निर्देशक मुखर्जीले एकजुट भएर फुटबल विकासमा लाग्न यो सम्झौता गरेको बताउनुभयो । उहाँले नेपालको विश्वकप खेल्ने सपना महिला फुटबलले पूरा गर्नेमा समेत आशावादी रहेको बताउनुभएको थियो ।

सो कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले विश्वकपमा छनोट नै हुन नसकेको नेपाली महिला टोलीलाई सफलताको शुभकामना दिनुभएको छ । चुरो कुरो यहीँनेर हो । अखिल नेपाल फुटबल संघले नेपाली महिला राष्ट्रिय टोलीको मुख्य प्रायोजनसम्बन्धी सम्झौताका क्रममा आयोजित सो कार्यक्रममा उहाँले यस्तो अभिव्यक्ति दिनुभएको थियो । अचम्मको कुरा नै भन्नुपर्ला कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री लिम्बूले छनोटको पहिलो चरण नै पार गर्न नसकेको नेपाली टोलीलाई बिहीबारबाट अस्ट्रेलिया र न्युजिल्यान्डमा शुरू हुने महिला विश्वकपमा खेल्न लागेको भन्दै सफलताको शुभकामना दिनुभएको हो । मन्त्रीजस्तो व्यक्तिले अभिव्यक्ति, भाषण वा मन्तव्य दिँदा विषयवस्तुको पनि ख्याल गर्नुपर्नेमा त्यसो हुन नसकेको भनी सार्वजनिक रूपमै आलोचना भइरहेको छ । सस्तो प्रचारबाजी गर्न मन्त्रीलाई यो सुहाउने कुरो पनि होइन ।

तर, केही छैन मन्त्री लिम्बूले नेपाली महिला फुटबल खेलको विकासका लागि युनिलिभरको प्रायोजन महत्वपूर्ण भएकोमा भने जोड दिनुभएको थियो । उहाँले सीमित स्रोत साधनको बाबजुद पनि राम्रो प्रदर्शन गर्दै आइरहेका नेपाली महिला टोलीले देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कडा मिहिनेत गरेको भन्दै प्रशंसा पनि गर्नुभएको थियो । उहाँले युनिलिभरलाई सहयोगका लागि धन्यवाद दिँदै राष्ट्रले आवश्यक सहयोग गर्न नसकेकोमा निजी क्षेत्रको सहयोगलाई निरन्तरता दिन पनि आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्