पुलाचौरको जनकल्याणमा नेपाली सेनाको जुनियर डिभिजन तालिम सुरु

56
Shares

म्याग्दी ।

म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा हिजो (सोमबार)देखि जुनियर डिभिजन तालिम सुरु भएको छ । नेपाली सेनाको राष्ट्रिय सेवा दलद्वारा सञ्चालित सि.सं. ४९ जुनियर डिभिजन तालिम यसवर्ष बेनीको पुलाचौरस्थित जनकल्याण माविमा सञ्चालन गरिएको हो ।

तालिमको शुभारम्भ गर्दै शत्रुभञ्जन गुल्म अर्थुङ्गे व्यारेक म्याग्दीका सेनानी शशाङ्कराज अर्यालले नेपालमा धेरै पहिलेदेखि नै एनसिसी तालिम सञ्चालन भएको बताउनुभयो । उहाँले पहिला सिनियर डिभिजन तालिम मात्रै सञ्चालन हुँदै आएकोमा २०७१ सालदेखि जुनियर डिभिजनको तालिम पनि सञ्चालन गरिएको बताउँदै तालिम अवधिभरमा सहभागी विद्यार्थीहरुलाई पाठ्यक्रमअनुसार प्रशिक्षण दिइने जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँले तालिमलाई प्रभावकारी तवरले सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले अनुशासनपूर्वक तालिममा सहभागी भएर सक्रियताका साथ तालिम लिन सहभागी विद्यार्थीहरुलाई सुझाव दिँदै वडा कार्यालयबाट पनि आवश्यक सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रामप्रसाद सुवेदीले एनसिसी तालिम प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको समापन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बानियाँले विद्यार्थीहरुको व्यक्तित्व र नेतृत्वको विकास गर्न तथा विद्यालयको चौतर्फी विकासका लागि तालिम ल्याइएको बताउनुभयो । कार्यक्रममा वडा सदस्य देवीदत्त पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष तिलकप्रसाद श्रेष्ठ, विद्यालयका पूर्व अध्यक्ष गणेशबहादुर हमाल, विव्यस ज्येष्ठ सदस्य श्यामप्रसाद श्रेष्ठ, विद्यालयका अभिभावकहरु यामबहादुर बानियाँ, मुकुन्द सुवेदी र टिका किसानले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको बारेमा एनसिसी तालिमका प्रशिक्षक ईमराज तामाङले जानकारी गराउनुभएको थियो ।

७९ दिनसम्म सञ्चालन हुने तालिममा जनकल्याण माविमा अध्ययनरत कुल ३६ जना विद्यार्थीहरु सहभागी भएका छन् । उनीहरुलाई विद्यालयमा आधारभूत तहको तालिम दिएपछि नवलपरासीको हात्तीखोरमा लगेर थप २१ दिनको तालिम दिइनेछ । कार्यक्रम विव्यस अध्यक्ष बानियाँको अध्यक्षता, विद्यालयका निमित्त प्रधानाध्यापक शिव बानियाँको सञ्चालन र जनकल्याण मावि अक्षयकोषका अध्यक्ष गजिन्द्र श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो ।

सोही कार्यक्रमको अवसरमा जनकल्याण मावि अक्षयकोषबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ मा सहभागी भई प्रथम हुने गुञ्जन श्रेष्ठ, द्वितीय प्रशंसा पौडेल र तृतीय आकृति श्रेष्ठलाई क्रमशः नगद १५ हजार, १० हजार र पाँचहजार रुपैयाँसहित मेडल लगाएर सम्मान गरिएको थियो । यसअघि अक्षयकोषबाटै पुलाचौर निवासी हाल प्रकाश माविबाट ४ जिपिएसहित एसईई उत्तीर्ण भएका समिर सुवेदीलाई नगद १० हजार र जेहेन्दार विद्यार्थी दिप्सन हमाललाई तीनहजार रुपैयाँले पुरस्कृत गरिएको विद्यालयले जनाएको छ ।