सडकपेटी सफाइ गर्दै वालिङ

0
Shares

स्याङ्जा। 

व्यवसायीले सडकपेटीमा सामाग्री राखेपछि पैदलयात्री लगायत बजार क्षेत्र अस्तव्यस्त भएको भन्दै वालिङ नगरपालिकाले सडकपेटी सफाइ अभियान सुरु गरेको छ । सडकपेटी खाली गर्न अनुरोध गर्दै नगरपालिकाले तिन दिनभित्रको समय दिएको थियो । समय अवधि भित्र सडकपेटीको अनुगमन गरेको नगरपालिकाले पहिलो पटक सचेत गराउने र दोस्रो पटक सामाग्री उठाउने सम्मको चेतावनी दिएको थियो । व्यवसायीले अटेरी गरेपछि वालिङ नगरपालिकाले सडकपेटीमा राखिएका सामानहरु उठाउन शुरु गरेको छ । नगरपालिकाको अनुरोधलाई अटेरी गरी सडकपेटीमा राखिएका व्यवसायीहरुको सामान उठाईएकोे हो । सिद्धार्थ राजमार्ग तथा भित्री सडकहरुमा सडकपेटी मिचेर राखिएका सामानहरु नगरपालिकाको टोलीले उठाएर लगेको बताइएको छ ।

यसअघि सूचना मार्फत नगरपालिकाले आफ्नो सटर भन्दा बाहिर सामान नराख्न अनुरोध गर्दै एक हप्ताको समय दिइएको थियो । बजारको सौन्दर्यतालाई कायम राख्न तथा सडकपेटीमा सामान राख्दाबाट हुने दुर्घटना न्यूनीकरणका साथै पैदल यात्रुको सहजताका लागी सडकपेटीमा समान नराखिदिन गरेको अटेरीलाई कारबाही स्वरुप सामाग्री उठाइएको नगरपालिकाका सूचना अधिकारी ज्ञानप्रसाद अर्यालले बताउनुभयो । उक्त आग्रहलाई अटेरी गर्नेहरुको सामान उठाउन शुरु गरिएको नगरपालिकाले जनाएको छ । यसरी उठाइएका सामानहरु पहिलो पटकलाई जरिवाना तिरेर लैजान सक्ने उहाँले बताउनुभयो । यस्तो कार्य फेरि दोहोरिएमा उक्त सामानहरु नगरपालिकाले जफत गर्ने समेत चेतावनी दिएको छ ।

नगरपालिकाले इलाका प्रशासन र प्रहरीको सहयोगमा सडक सफाइ अभिान गरेको छ । वालिङका मुख्य बजार क्षेत्र वालिङ मोड, तल्लो वालिङ, भुम्रे, भकुण्डे, मिर्दि, रामबाच्छा र त्रियासी सबै ठाउँमा अनुगमन गरी सडकपेटीमा सामाग्री नराख्न अनुरोध गर्दै आएको छ । यो निरन्तर रहने बताइएको छ । अहिले सम्म नगरपालिकाले अटेरी गर्ने नौ वटा पसलका सामाग्री उठाएको इलाका प्रशासनका नायब सुब्बा सुवास पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार फेन्सी पसल, फ्रिज मर्मत केन्द्र, होडिङ् बोर्ड र केही फर्निचरका सामाग्रीहरू उठाइएको छ ।