धादिङमा एकैदिन ३४ जनामा डेङ्गु सङ्क्रमण 

महामारीको रुप लिँदै



धादिङ  ।

धादिङमा  सोमबार  थप ३४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।  नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिकामा  १५ जना पुरुष र १९ जना महिला गरी ३४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

सङ्क्रमितमध्ये ३३ जना नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिकाका १ जना रहेका छन् । डेङ्गुको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि छ दिनसम्म ज्वरो रहने हुन्छ ।यस्तै किसिमको लक्षण देखिएपछि स्वास्थ्य संस्थामा आएकाहरु जाँच गर्दा महामारीको रुप लिएको हो ।

त्यस्तै  आँखाको गेडी दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने र ज्वरो आएको पाँच दिनपछि रातो बिमिरा देखा पर्ने लक्षण देखिन सक्छ ।

 सङ्क्रमण बढेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै विज्ञहरुले सचेत गराएका छन् ।

घर वा कार्यालयमा डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टेको फुल पार्न सक्ने ठाउँ नष्ट गर्ने तथा गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिन नहुने उनीहरुको सुझाव छ।

 एडिस लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल सङ्क्रमण, डेङ्गुको सेरोटाइप प्रत्येक वर्ष परिवर्तन हुने गरेको छ । एडिस जातको लामखुट्टेको अण्डा एक वर्षसम्म जीवित रहन्छ । यो लामखुट्टे दिउँसोको समयमा समेत बढी सक्रिय हुने गर्दछ ।

 विसं २०६१ मा पहिलो पटक डेङ्गु देखा परेको थियो। त्यसयता क्रमशः बढ्दै गएको तथ्याङ्कले देखाउँछ।

 यतिखेर महामारीको रुपमा फैलिएको डेङ्गु शनिबार १६ जना शुक्रबार २१ जना जनामा पुष्टी भएको थियो ।

धादिङ जिल्लामा ०७९ साउन १ गतेबाट हालसम्म २ हजार ८ सय १८ जना  डेङ्गुबाट  संक्रमित भएको  धादिङ स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्