सेवाग्राहीको सहजताका लागि अन्नपूर्णमा ‘सहायता कक्ष’

28
Shares

कास्की । 

कास्कीको अन्नपूर्ण गाउँपालिकाले सेवाग्राहीका लागि सहायता कक्ष सुरुवात गरेको छ । कार्यालयमा आउने सेवाग्राहीलाई सेवा प्रक्रिया, आवश्यक कागजात सम्बन्धित शाखा लगायतको जानकारी सहित आवश्यक सोधपुछ र सहजीकरणको लागि सहायता कक्षमा छुट्टै कर्मचारीको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष विष्णु बहादुर के.सी.ले जानकारी दिनु भयोे । पालिका अध्यक्षले पहिलो सेवाग्राही कुल प्रसाद भण्डारीलाई टिका लगाएर स्वागत गरी सहायता कक्ष शुभारम्भ गर्नु भएको थियो ।

सोमबारदेखि सुरु गरिएको सहायता कक्षमा पहिलो सेवाग्राही कुल प्रसाद भण्डारीले पहिलो सेवा लिएका थिए । सेवा लिन आएका भण्डारीले सहायता कक्ष नहुँदा अन्यौलमा पर्ने, यता उता डुल्ने गर्नु पर्थ्यो भने त्यो हटेको प्रतिक्रिया दिनु भयो । उहाँले सहायता कक्षले आफूले खोजेको ठाउँ व्यक्ति सजिलै भेट्न सकेको र धेरै सजिलो भएको हुँदा गाउँपालिकाले सञ्चालन गरेको सहायता कक्ष प्रभावकारी भएको बताउनु भयो ।

कार्यक्रममा नयाँ आर्थिक वर्ष २०८०/८१ को सुरुवातसंगै आफूहरुले राम्रो कामबाट सुरुवात गरेको गाउँपालिका अध्यक्ष विष्णु बहादुर के.सी.को भनाई रहेको थियो । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई छिटो छरितो र सहज रुपमा सेवा प्रदान गर्न सबै जना उत्तिकै जिम्मेवार भएर लाग्नु पर्ने अध्यक्ष के.सी.ले बताउनु भयो । आफूहरु निर्वाचित भएर आइसके पछाडि सुशासन र सरल सेवा प्रवाहको लागि परेको समेत उहाँको भनाई छ । गाउँपालिकाले विशेष दिन पारेर सेवाग्राही कक्ष सुरु गरेको हुँदा बर्षदिन भरी नै सेवा प्रबाह प्रभाबकारी हुने भन्दै सबैलाई सेवाग्राही मैत्री भएर काम गर्न गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले आग्रह गर्नु भयो ।

त्यस्तै अन्नपूर्ण गाउँपालिकाले कार्यालय परिसरमा वाइफाई फ्री जोन समेत घोषणा गरेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले कार्यालयमा आउने सेवाग्राहीले निःशुल्क रुपमा वाइफाईको प्रयोग मार्फत सेवा सम्बन्धी जानकारी, वेबसाइट भिजिट लगायत अन्य सूचना तथा जानकारी प्राप्त गर्न कार्यालय परिसरमा वाइफाई फ्री जोन घोषणा गरेको जानकारी दिनु भयो । पछिल्लो समय अन्नपूर्ण गाउँपालिकाले प्रविधि मैत्री सेवा प्रवाहमा जोड दिएको छ । गाउँपालिकाले गत आ.ब. देखि नै जनताले घरमै बसेर इसेवा, कनेक्ट आइपिएस मार्फत कर तिर्न सक्ने व्यवस्था गरेको थियो भने सेवाग्राही सन्तुष्टि मापन र गुनासोको लागि क्यु आर कोडबाट सेवाग्राही सन्तुष्टि सर्वेक्षण फाराम समेत भर्ने व्यवस्था सुरुवात भइसकेको पाकिाले जनाएको छ ।