मेसीले सम्झौता गरेको दिन मायामीको हार

0
Shares

वाशिंटन, (एजेन्सी) । स्टार खेलाडी लियोनेल मेसीले सम्झौता गरेको दिन उनको क्लब इन्टर मायामीले फराकिलो गोलअन्तरको हार बेहोरेको छ ।

आइतबार बिहान भएको मेजर लिग सकरको आफ्नो २२औं खेलमा मायामीलाई एसटी लोइसले ३–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । यो हारसँगै मायामीले मेसी अनुबन्ध घोषणा गरेपछि खेलेको सात खेलमा एउटा पनि खेल जित्न सकेको छैन । जसमा दुई खेल बराबरी खेलेको छ भने पाँच खेल हारेको छ ।

मायामीले आइतबार मेसीलाई औपचारिक रुपमा आफ्नो क्लबको जर्सीमा सार्वजनिक गरेको थियो । मायामीका लागि आइतबार विशेष दिनको रुपमा रह्यो । मेसीको स्वागतमा मायामी सहर बेहुली झैं सिंगारिएको थियो । त्यहाँका समर्थकहरुमा पनि ठूलो उत्साह र उमंग देखिएको थियो । तर, मेसीको स्वागतमा तम्तयार मायामीले त्यही दिन लज्जास्पद हार बहो¥यो ।

मायामीविरुद्ध एकपक्षीय जित निकाल्ने क्रममा लोइसका लागि पहिलो गोल खेलको २८औं मिनेटमा सामुएल एडेनिरानले गरेका थिए । दोस्रो गोल खेलको ४०औं मिनेटमा टिम पार्करले गरेका थिए । त्यस्तै, तेस्रो गोल खेलको अन्तिम समयतिर अर्थात् ८०औं मिनेटमा एडुआर्डो लोएनले गरेपछि खेल लोईसले ३–० ले जित्दै तीन अंक बटुल्यो । यो समेत मायामीले खेल जित्न नसकेको संख्या ११ पुगेको छ ।

यो हारपछि मायामीको २२ खेलबाट मात्र १८ अंक रहेको छ । मायामी जारी सिजनको मेजर लिग सकरको अंक तालिकाको पुछार रहेको छ । मायामीले खेलेको २२ खेलमध्ये पाँचमा जित, तीनमा बराबरी र १४ खेलमा हार बहोरेको छ ।