उद्योगधन्दा विस्तारमा जोड देऊ

0
Shares

सरकारले उद्योगधन्दाको विकासमा ध्यान दिन सकेको छैन । यसअघिका सरकारहरुले नयाँ उद्योगधन्दा खोल्नुभन्दा पनि भएका उद्योगधन्दाको समेत संरक्षण गर्न सकेनन्, जुन मुुलुकको लागि विडम्बना हो । वर्तमान सरकारले पनि विगतकै सरकारका चरित्र अनुसार उद्योगधन्दाको विकास र विस्तारमा खासै ध्यान दिन सकेको छैन । उद्योगधन्दाको विकास र विस्तारले आर्थिक गतिविधिलाई चालयमान गराउँछ र आर्थिक वृद्धिमा थप सहयोग गर्दछ । उद्योगधन्दाको विकासले घरेलु अर्थतन्त्रलाई मात्र सहयोग गर्दैन निकासी व्यापारमार्फत देशबाहिरबाट धन भित्र्याउने अवसर पनि प्रदान गर्दछ । सपन्नताको मार्गमा अगाडि बढिरहेका र सफलता हासिल गरिसकेका राष्ट्र सबैमा औद्योगिकीकरणले तीव्रता लिएपछि नै आर्थिक वृद्धि राम्रो भएको थियो । उद्योगधन्दाले रोजगारीमार्फत आय बढाएपछि उपभोग्य वस्तुको माग पनि बढ्छ । धेरै लचक नभए पनि खाद्यान्नको माग पहिलो प्राथमिकतामा पर्दछ । खाद्यान्न महँगो भयो भने ज्यालामा दबाब पर्दछ । फलस्वरुप, रोजगारीको अवसर खुम्चिन्छ । त्यसै गरी कतिपय कच्चा पदार्थ कृषि क्षेत्रबाट प्राप्त हुन्छ । त्यसकारण औद्योगिकीकरण र कृषि विकास एक–अर्काका परिपूरकका रुपमा सँगै जानुपर्छ भन्ने मान्यता पनि छ ।

व्यावसायिक कृषिका अभियन्त्ता जहाँ जे रामो हुन्छ त्यहाँ त्यही उत्पादन गर्ने हो निर्वाहमुखी कृषि ठीक होइन भन्छन् । तर, एक सार्वभौम राष्ट्रको हिसाबले कुनै पनि देशले आफ्नो लागि आवश्यक खाद्यान्न उत्पादन गर्नै पर्दछ । खाद्यान्नको परनिर्भरताको असर सबैभन्दा खतरनाक हुन सक्छ । कल्पना गरौँ त, भारतबाट इन्धन नआउँदा हामीले डिँडेर काम चलायौँ तर खाद्यान्न आएन भने भोकै बसेर त बाँच्ने अवस्था रहँदैन । फेरि, कृषिलगायत उद्योगधन्दाको विकास र विस्तार भएन भने भाडा असुल्ने प्रवृत्ति भएको आर्थिक गतिविधि मात्र सञ्चालन हुन थाल्छ । अर्थ व्यवस्था उद्यमीभन्दा नाफाखोरको क्रीडास्थल बन्दछ । उद्योगधन्दा वा कृषि विकास होस्, सबै अर्थिक गतिविधिको लागि जोखिमको मात्रा कम हुनुपर्दछ । जोखिम नियन्त्रण भएन भने लगानी डुब्ने डर हुन्छ ।

त्यसै गरी लगानीबाट उचित प्रतिफल प्राप्त हुने अवस्था भएन भने पनि लगानी हुँदैन । मौसममा भर पर्ने कृषिमा जोखिमको मात्रा एकदमै बढी छ । रोपेर नथन्क्याउँदासम्म जोखिम नै जोखिम छ । त्यसै गरी वैदेशिक रोजगारीले कृषिको लागि प्राप्त हुने मजदुर महँगो हुन जाँदा कृषि गतिविधि घाटाको उद्यममा परिणत भएको छ । गाउँमा मनग्य जग्गा भएका मानिस पनि शहरी क्षेत्रमा एउटा साँघुरो कोठामा भाडामा बसेर सडकमा चिया वा चटपटेको पसल गरिरहेका छन् । चिया बेचेर गुजारा हुन सक्ने तर आफ्नो जग्गामा खेतीपाती गरेर गुजारा नहुने अवस्था आएकोले यस्तो भएको हो । मानिस धमाधम शहरी क्षेत्रको घर, जग्गाजस्तो अनुत्पादक क्षेत्रमा लगानी गरिरहेका छन् । गाउँघरमा जताततै खेतीयोग्य जमिन बाँझिने क्रम बढिरहेको छ । कृषि गतिविधि राम्रो प्रतिफल दिने क्षेत्र नभई नेपालमा कृषि विकासको सम्भावना देखिँदैन । त्यसैले सरकारले कृषि र उद्यम विकासलाई सँगसँगै लैजानुपर्छ । उद्योगधन्दाको विकास र विस्तारबाट सरकारको आय बढ्छ । त्यसैले उद्योगधन्दाको विस्तार र विकास अहिलेको अपरिहार्यता हो । यसमा सरकारले विशेष ध्यान दिन जरुरी छ ।