आम्दानीभन्दा खर्च बढी

0
Shares

नेपाल राष्ट्र बैंकले हालै एक तथ्यांक सार्वजनिक गर्दै मासिक १ खर्ब रुपियाँभन्दा बढीको विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको जनाएको छ । चालू आर्थिक वर्षमा रेमिट्यान्स २२ दशमलव ७ प्रतिशतले वृद्धि भई ११ खर्ब १२ अर्ब ५२ करोड रुपियाँ पुगेको राष्ट्र बैंकको तथ्यांक छ । चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६ दशमलव ६ प्रतिशतले वृद्धि भई ४ लाख ५९ हजार ४१५ जना पुगेको छ । साथै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या शून्य दशमलव ५ प्रतिशतले वृद्धि भई २ लाख ६० हजार २६२ जना पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०८ दशमलव ३ प्रतिशतले बढेको थियो । त्यस्तै खुद ट्रान्सफर २१ दशमलव ९ प्रतिशतले वृद्धि भई १२ खर्ब २९ अर्ब ८२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ दशमलव ८ प्रतिशतले बढेको थियो ।

केन्द्रीय बैंकको उक्त तथ्यांकले अर्थतन्त्र रेमिट्यान्सको प्रभाव सकारात्मक रहेको संकेत गर्दछ । तर, राष्ट्र बैंककै अर्को तथ्यांकले भने नेपाल भित्रिएको रेमिट्यान्स कहाँ खर्च भइरहेको छ भन्नेतर्फ संकेत गर्दछ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा नेपालबाट १ खर्ब ४३ अर्ब रुपियाँको निर्यात हुँदा १४ खर्ब ८० अर्ब ९८ करोड रुपियाँको आयात भई १३ खर्ब ३७ अर्ब ३९ करोड रुपियाँको कुल व्यापार घाटा भएको छ । यद्यपि, चालू आर्थिक वर्षमा निर्यात २२ दशमलव ७ प्रतिशत र आयात १६ प्रतिशतले घटेको छ । आयात घट्दा व्यापार घाटा पनि १५ दशमलव २ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, कागज, अन्य स्टेसनरी सामानलगायतका वस्तुको आयात बढेको छ भने सवारीसाधन तथा स्पेयर पार्टस्, एमएस विलेट, औषधि, कच्चा भटमासको तेल, अन्य मेसिनरी तथा पार्टस्लगायतका वस्तुको आयात घटेको छ । यस तथ्यांकबाट के बुझ्न सकिन्छ भने, नेपालमा जति रुपियाँ रेमिट्यान्सका रूपमा भित्रिन्छ त्योभन्दा बढी हामीले विदेशबाट सामान आयात खर्च गरिरहेका छौं ।

नेपालको आन्तरिक उत्पादन र निर्यात अत्यन्तै न्यून हुँदा आम्दानीभन्दा खर्च बढी भएपछि घाटाको तथ्यांक बढेको कुनै दुई मत छैन । आयातमुखी नेपालको अर्थतन्त्रमा वैदेशिक मुद्राको सञ्चिति र वस्तु आयातमा रेमिट्यान्सको भूमिका प्रमुख छ । पर्यटन उद्योग सुस्त हुँदा वैदेशिक मुद्राको आर्जन घटेको छ । तथापि, जेठ मसान्तसम्ममा विदेशी मुद्राको सञ्चिति १४ खर्ब ८० अर्ब ८७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १८ दशमलव ५ प्रतिशतले वृद्धि भई ११ अर्ब ३० करोड कायम भएको छ । ११ महिनाको आयातलाई आधार मान्दा बंैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ दशमलव २ महिनाको वस्तु आयात र ९ दशमलव ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । पछिल्लो चरणमा अर्थतन्त्रका सूचकहरु सकारात्मकतातर्फ बढेको देखिए पनि आयात नघटाउँदासम्म अर्थतन्त्र बलियो नहुने कुरा स्पष्ट छ । विदेशमा गएका नेपालीको सबै रकम हाम्रा न्यूनतम आवश्यकता पूरा गर्नमै खर्च गर्ने हो भने बचत कहिले गर्ने ? यो कुरा सरकारका अधिकारी मात्रै होेइन आम जनताले पनि बुझ्न जरुरी छ ।