लुम्बिनी प्रदेश मातृ मृत्युदरमा अग्रस्थानमा 

प्रमुख कारण गर्भपतन



बुटवल। 

लुम्बिनी प्रदेशमा देखिएको मातृ मृत्युदरको दरलाई हेर्दा यहाँ असुरक्षित गर्भपतन निकै  हुने गरेको सरोकारवालाहरुले औल्याएका छन् । राष्ट्रिय तथ्याङ्कमा   प्रति एक लाख महिलामा १५१ जना मातृ मृत्युदर रहेकोमा लुम्बिनीमा भने २०७ रहेको छ ।

गर्भपतन मुलुककै तथ्याङ्कमध्ये २० प्रतिशत लुम्बिनीमा हुने गरेको छ । त्यसमा पनि  २० वर्ष मुनिकाको तथ्याङ्क ६ प्रतिशत रहेको जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देही जिल्ला र लुम्बिनी प्रदेश मातृ मृत्युदर र गर्भपतन गराउनेमा  अग्रस्थानमा देखिएको छ । यो चुनौतीको विषय भएको बताइएको छ ।

हेल्थ टुडे मिडिया काठमाडौँको आयोजनामा शुक्रवार बुटवलमा भएको सुरक्षित गर्भपतन र मिडियाको भूमिका विषयक अन्तरक्रियामा विषय विज्ञहरुले गर्भपतन गराउनका लागि सरकारी मान्यता प्राप्त स्वास्थ्य संस्थाहरु रहेता पनि निकै धेरैले  अनुमति प्राप्त नभएका चिकित्सक , स्वास्थ्य संस्था,  स्वास्थ्य कर्मीहरुसंगको सल्लाहमा गर्भपतन गराउने गरेकाले मातृमृत्य दरको अवस्था चुनौती पूर्ण देखिएको बताएका छन् ।

यो चुनौतीपूर्ण अवस्थालाई मध्यनजर गरी मिडियाले पनि सके गर्भपतन नगरौँ, गर्ने पर्ने भए सूचीकृत संस्था र चिकित्सकबाट गराउ ,सकभर अस्थायी साधनको प्रयोगमा जोड दिने हिसाबले सचेतना जगाउन जरुरी रहेको हेल्थ टुडे मिडिया काठमाडौँका सम्पादक पदमराज जोशीले बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका सूचना अधिकारी भेषराज शर्माले  लुम्बिनीमा बितेको १० महिनामा  १४ हजार ३२० जनाले गर्भपतन  गराएका छन् । गर्भपतनको मुलुककै  तथ्याकमध्ये २० प्रतिशत लुम्बिनीमा रहेको छ । त्यसमा पनि  २० वर्ष मुनिकाको तथ्याक ६ प्रतिशत रहेकाले यो तथ्याकले पनि अवस्था चुनौती पूर्ण रहेको उहाँले औँल्याउनु भयो ।

स्त्री तथा प्रस्तुति रोग विशेषज्ञ डा. सतिश रुपाखेतीले  गर्भवती महिलाहरुले चिकित्सकको सल्लाह विना अधिक रुपमा  औषधी सेवन गर्ने गरेकाले मातृमृत्य दरको संख्या बढदै गएको बताउनु भयो । उहाँले  अनुमति प्राप्त भन्दा बाहिर गएर सुनेको भरमा  गर्भपतनका औषधीको प्रयोग  चुनौती पूर्ण रहेको औँल्याउनु भयो ।

कार्यक्रममा नेपालपत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डेले हरेक कामको अनुगमन र मुल्याकनमा जोड दिन सकेमात्र सेवा प्रवाहकर्मीहरु जवाफदेही हुने बताउँदै त्यसतर्फमिडियाकर्मीले कलम चलाउन माग गर्नु भयो ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालकी नर्सिङ इन्चार्ज पुतला खनाल, औषधी व्यवसायी सुरज भट्रराई, पत्रकारहरुले सुरक्षित भन्दा पनि  असुरक्षित गर्भपतन बढी हुने गरेको तर त्यसको तथ्याङ्क नियमक निकायहरु समक्ष आई नपुग्ने हुँदा यो विकराल अवस्थालाई मध्यनजर गरी सरकारले आगामी दिनमा नीति बनाउँदा  थप संम्बेदनशील बन्न जरुरी रहेका बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्