स्विटोलीनालाई हराएर भोन्डरुसोभा फाइनलमा

0
Shares

लन्डन, (एजेन्सी) । एलिना स्विटोलीनाको विम्बल्डन टेनिस प्रतियोगितामा शानदार यात्रा सेमिफाइनलमा आएर टुंगियो । वाइल्ड कार्डमार्फत् प्रतियोगितामा प्रवेश गरेकी युक्रेनकी एलीनालाई मार्केटा भोन्डरुसोभाले हराएकी हुन् । चेक खेलाडी भोन्डरुसोभा यो जितसँगै फाइनलमा पुगेकी छन् । साथै वरियताविहीन फाइनलमा पुगेको यो विम्बल्डन महिला सिगल्सतर्फ पहिलो अवसर बनेको छ ।

२४ वर्षीया भोन्डरुसोभाले विम्बल्डनमा दोस्रो चरण कहिल्यै पार गर्न सकेकी थिइनन् । यसपालि उनी फाइनलमा पुगिन् । उनले स्विटोलीनाको यात्रा ६–३, ६–३ ले समाप्त गरेकी थिइन् । स्विटोलीना पनि यस प्रतियोगितामा वरियताविहीन खेलाडीको रुपमा सहभागि भएकी थिइन् ।

जितपछि भोन्डरुसोभाले आफुले कहिल्यै यहाँसम्म पुग्ने नसोचेकी बताइन् । उनले भनिन्—मैले विश्वासै गर्न सकिरहेकी छैन । म खुशी छु । एलीना साँच्चिकै फाइटर हुन् र साथै महान व्यक्ति पनि । यो निकै कडा खेल पनि थियो ।

हालैको इतिहासले धेरै जसो महिला सिंगल्समा ग्रान्डस्लाम फाइनलिस्टहरु स्तब्ध भएको देखाएको छ । तर, भोन्डरुसोभाले भने ठूलो आश्चर्य नतिजा निकालिन् । विश्वमा भोन्डरुसोभा ४२ औं स्थानकी खेलाडी हुन् । चेक खेलाडीको लागि क्ले कोर्ट (माटोको कोर्ट) निकै फाइदाजनक रहेको छ । तर, यसपटक चेक खेलाडी भोन्डरुसोभाले ग्रास कोर्ट (घाँसे कोर्ट) मा फाइनल पुगेर देखाइन् ।

भोन्डरुसोभा २०१९ को फ्रेन्च ओपन फाइनलमा अस्टे«लियाकी एश्लीग बार्टीसँग पराजित भएकी थिइन् । यसपछि उनी फेरि एकपटक ग्रान्डस्लाम फाइनलमा छिन् । फाइनलमा के हुन्छ थाहा नभएको उनले बताएकी छन् ।

पराजित स्विटोलीनाले गत वर्ष अक्टोबरमा छोरी जन्माएकी थिइन् । युद्धको चपेटामा रहेको उनको देश युक्रेनमा उनले बच्चा जन्माउन पनि साहसको विषय भएको बताइन् । युद्धले उनलाई मानसिकरुपमा बलियो बनाएको पनि उनको विश्वास रहेको छ । यसैको प्रेरणाले उनको विम्बल्डन यात्रा राम्रो रहेको पनि उनले बताइन् ।